
भानु: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। २१२औँ भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्तको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । पाण्डेले पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा सहयोग गरेर पर्यटकको आर्कषणको केन्द्र बनाइने बताए ।
चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने पनि प्रतिबद्धता गरे । भानुभक्तले साहित्यको माध्यमबाट नेपाली भाषा र साहित्यलाई विदेशसमेतमा चिनाउन सफल भएको तर पूर्वाधारको अभावले यो ठाउँ ओझेलमा परेकाले यहाँको विकासको लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । साथै मुख्यमन्त्री पाण्डेले भानुभक्त नेपाली भाषाका एकताका सूत्रधार रहेको बताए । नेपाली भाषाको संम्बद्र्धनको एकिकरणको लागि योगदान पुर्याएका भानुभक्त आचार्यको स्थान पवित्र स्थलको उल्लेख गर्दै यसको विकासको लागि आफूले पहल गर्ने पनि पाण्डेले बताए ।
भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपाने, समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाट लगायतले भानु जयन्तीमा मात्रै भानुको योगदान सम्झिएर नहुने उल्लेख गर्दै सधै स्मरण गर्ने यस क्षेत्रको विकासको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए।