
दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले लागु पदार्थ दुरुपयोग र ओसारपसार विरुद्धको साताव्यापी दिवसलार्ई रचनात्मक र प्रभावकारी बनाउन सरोकारवाला सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको ओसारपसार विरुद्धको साताव्यापी कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दैै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लागुपदार्थको दुरुपयोग र ओसारपसार रोक्ने दायित्व प्रहरी प्रशासन मात्रको नभई सरोकारवाला सबै सचेत समुहको भएको बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीले आफ्ना छोराछोरी र आफन्तको संगत र खानपान शैलीको बारेमा पनि जानकार हुनुपर्नेमा जोड दिए ।
प्रजिअ अधिकारीले दिवसमा भएका गतिविधिको प्रचारप्रसार गरी आम नागरिकलाई सचेत बनाउने दायित्व संचारमाध्यमको भएकोले सोही अनसारको भूमिकाको अपेक्षा गरिएको समेत बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले सभ्य समाज निर्माण कार्यमा सबैको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक विरेन्द्रबहादुर शाही, शसस्त्र प्रहरी २३ नम्बर गण भानुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अशोककुमार लम्साल, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरी आचार्य र जिल्ला हुलाक कार्यालय तनहुँकी प्रमुख अस्मिता बानिया लगायतले आफूहरुले लागुपदार्थको दुरुपयोग र ओसारपसारको विरुद्ध निगरानी, सन्देश प्रवाहका साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।
होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गा विलास अधिकारी, सामुदायिक सेवा केन्द्र तनहुँका सचिव तारा नरेश पौडेल लगायतले साताव्यापी कार्यक्रमलाई टोल, विद्यालय लगायतको सहकार्यमा व्यापक बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए। प्रहरी निरिक्षक आशिष विश्वकर्माद्धारा लागुपदार्थको प्रयोग र यसले पार्ने असरको बारेमा प्रस्तुतीकरण गरेका थिए । दिवसको समापन १२ गते दमौलीमा प्रभातफेरी गरी मनाईने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।