
दमौली : तनुहँको व्यास नगरपालिका-१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियुले शैक्षिक सुधार, भौतिक पूर्वाधार र छात्रवृत्तिका लागि तनहुँको दुई पालिका सँग सहयोगको माग गरेको छ। स्ववियु सभापति अनुप आलेले मंगलबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पडिण्तलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्।

क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरू ग्रामीण तथा विपन्न परिवारबाट आएकाले उनीहरुकौ शैक्षिक उन्नति, भौतिक पूर्वाधार सुधार तथा आवश्यक सहयोग नहुँदा पठनपाठनमा कठिनाइ भइरहेको आलेले बताएका छन् । विद्यार्थीहरूमा शैक्षिक प्रतिभा प्रसस्तै भएको तर शिक्षण सामग्री, अतिरिक्त कक्षाहरूको अभाव तथा सहयोगको कमीले उनीहरूको क्षमताको उचित विकास हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
पुस्तकालय, शुद्ध खानेपानी, पठन कक्ष, स्वाच्छ शौचालय, खेलकुद सामग्री आदि पूर्वाधारहरूको न्यूनता भएको हुदा जसले पठनपाठनमा प्रतिकूल असर परेको जनाइएको छ। संस्था भित्रका धेरै विद्यार्थीहरू आर्थिक रूपमा अत्यन्त कमजोर पारिवारिक पृष्ठभूमिबाट आएकाले छात्रवृत्तिको व्यवस्था भएमा पढाइमा थप प्रेरणा मिल्ने र गिरावट भएको उपस्थिति तथा नतिजामा सुधार आउने विश्वास लिइएको छ।
स्ववियुले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा पिछडिएका विद्यार्थीहरूको पहिचान गरी छात्रवृत्ति उपलब्ध गराउन, संस्था भित्रको आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतका लागि बजेट उपलब्ध गराउन, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक शैक्षिक सामग्री तथा कार्यक्रमहरूको सहयोग गर्न माग गरिएको ज्ञापन पत्र तनुहँको दश वटै पालिका मा बुझाईने पनि बताईएको छ।
