बुल्दीखोला पुलको तेश्रो पक्षद्वारा मुल्याङन,अनुगमन र सार्वजनिक परीक्षण

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटर गुड्ने पुलको निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार तेश्रो पक्षको मुल्याङकन,अनुगमन र सार्वजनिक परीक्षण कार्य समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको बताए ।  उनले भने “वडा नं १ र २ लाई जोड्ने पुल राम्रो र छिटो निर्माण गरिनुका साथै ठूलो प्रगति हासिल भएको छ ।” निर्माण व्यवसायीले गर्नुपर्ने कार्य सकिएको छ,बाँकी गर्नुपर्ने कार्य नगरपालिकाले गर्ने आश्वसन दिनुभयो । व्यासकी उपप्रमुख इन्दिरा दरैले पुल निर्माण पछि नगरबासीलाई आवतजावतमा सहज भएको बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले व्यासका इन्जिनियर र पूर्वधार विकास कार्यालयका इन्जिनियरको मुल्याङकनमा तादम्य मिलेपछि मात्रै निर्माण व्यवसायीलाई अन्तिम किस्ता भुक्तानी गरिने बताए । उक्त कार्यक्रममा व्यास १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले,व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ,डा.इन्जिनियर राजु पौडेल,इन्जिनियर रोचक क्षेत्री,कार्यपालिका सदस्य चन्द्रमाया परियार,वडासदस्य,टोल विकास संस्थाका पदाधिकारी एवं स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो ।  

तेश्रो पक्षको मुल्याङकनका लागि पूर्वाधार विकास कार्यालयका इन्जिनियर विजय थापालाई दिइएको थियो । उहाँको मुल्याङ्कनमा कुनै कैफियत नदेखाई पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीको लागि प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । विसं २०८२ भाद्र ३० गते सम्पन्न गर्ने गरी निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले सम्झौता गरेकोमा सम्झौता भन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । 

पुलको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने,उपप्रमुख इन्दिरा दरै,प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले पुलको अनुगमनका साथै आमनागरिकमा आर्थिक पारदर्शिताका लागि सार्वजनिक परीक्षण गरिएको थियो । तेश्रो पक्ष मुल्याङकनमा पनि पास हुनुका साथै सार्वजनिक परीक्षणमा कसैको बिरोध नआएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले निर्माण कम्पनीलाई भ्याट सहित करीब रु.डेढ करोड भुक्तानी गर्नुपर्ने देखिएको सो नगरपालिकाले जनाएको छ । 

उनले भने “नगरपालिकाबाट पहिलो पटक मोटर गुड्ने पुल निर्माण गर्न सफल भएका छौ,अब भुक्तानीका लागि पहलकदमी अघि बढाइनेछ ।” 
निर्माण कम्पनीले मजदुरको इन्सुरेन्स,पुलमा समस्या आएमा वा एक बर्षभित्र भत्किएमा इन्सुरेन्स दाबी गर्न सक्नेछन्,उहाँले भन्नुभयो “निर्माण कार्यको गुणस्तर चेकजाँच रिर्पोट आइसकेको छ तर बिल पेश नगरेकाले भुक्तानी गर्न बाँकी रहेको छ ।” 

बोलेर भन्दा पनि काम गर्ने आफ्नो बानी रहेकाले सम्झौता भन्दा अगावै निर्माण कार्य सम्पन्न गर्न सकिएको ज्वालामुखी कन्स्ट्रक्सनका संचालक धर्मराज लोहनीले बताए । उनले भने “पुल निर्माणका क्रममा स्थानीयबासी,नगरपालिका र प्राविधिकबाट सहयोग पाएका कारण यति छिटो निर्माण सम्पन्न गर्न सकिएको हो,यसप्रति आभारी छु ।” उक्त पुलको लम्बाई २५ मिटर र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार छ सय नब्बे (मूल्य अभिवृद्धि कर सहित)को लागतमा निर्माण सम्पन्न गरिएको हो ।  जसमा संघीय सरकारको रु.एक करोड पैतिस लाख सहयोग प्राप्त भएको छ भने अन्य सबै व्यास नगरपालिकाको आफ्नै स्रोतबाट पुल निर्माण गरिएको हो । 

तेश्रो पक्ष मुल्याङकन र अनुगमन र सार्वजनिक परीक्षण पास भएकाले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण हुने व्यास नगरपालिकाले जनाएको छ । व्यासका योजना शाखा अधिकृत तिवारीले भन्नुभयो “कामलाई निरन्तरता दिइने हो भने सम्झौता अवधि भन्दा अघि पनि काम सम्पन्नगर्न सकिन्छ भन्ने गतिलो सन्देश यस निर्माण कम्पनीले अन्य निर्माण व्यवसायीलाई दिएको छ ।” पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्