व्यवसायिक वातावरण निर्माणका लागि वर्तमान कार्यसमितिले लिएका पहलहरु-अर्जुन रसाईली

दमौली न्युज
  • ख-
  • ख+

विषय प्रवेश
राज्यको कानूनी व्यवस्थाका कारण वा कतिपय आफ्‌नै कारण भोग्नु परेको अनावश्यक झमेला, हण्डर र ठक्करबाट मुक्त भएर सजिलो तरिकाले व्यवसाय गर्न सकिएला भन्ने आशमा संगठित भइ संचालन भएको करिब चार दशक पार गरिसक्दा पनि समस्याहरु कम हुदैँ जानुको साट्टा झन् नयाँ–नयाँ समस्याहरु थपिदैँ गएका छन् ।
महासंघ व्यवसायीहरुको समस्याहरु समाधान तिर भन्दा आफै भित्र बढ्दै गएको चरम ध्रुविकरण, मतमतान्तर र आरोप प्रत्यारोपले गर्दा कुहिरोमा हराएको काग सरह हराइरहेको थियो । यस बिचमा २०८१ असार १५ गते सम्पन्न नवौं, दशौं, एघारौं वार्षिक साधारण सभा र चौंथो महाधिवेशनबाट सुनचाँदी व्यवसायी महासंघकै इतिहासमा पहिलोपल्ट विधिवत् रुपमा निर्वाचन प्रणालीबाट मेरो नेतृत्वमा नयाँ टिम निर्वाचित भयौं ।
हामी निर्वाचित भएसंगै सबै खाले नयाँ पुराना समस्याहरु हल भइ सहज तवरले व्यवसाय गर्ने अवस्था निर्माण हुन्छ भन्ने व्यवसायीहरुमा आशा जागेको छ । व्यवसायीहरुका मरिसकेका सपनाहरु पुनर्जीवित हुन थालेको मैले महशुस गरेको छु । व्यवसायीहरुको यो भावनालाई सम्मान गर्दै, सर्वप्रथम मेरो टिम प्रति ठूलो विश्वास र भरोसाको साथ विजय गराउनु हुने सम्पूर्ण प्रतिनिधि मतदाता व्यवसायीहरुलाई हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दै चुनावको बेला व्यवसायीहरुमाझ हामीले व्यक्त गरेका सबै ३२ बुदेँ प्रतिवद्धताहरु क्रमानुसार पूरा गर्ने पुनः प्रतिवद्धता व्यक्त गर्दछु ।

पृष्ठभूमि
वि.सं. २०४४ मा गठन भइ अस्तित्वमा रहि आएको साविकको नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र) पूर्ण रुपमा परिणत भइ वि.सं.२०६९ फागुन २० गते विधिवत् नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना भएको हो । महासंघको अतित नेपाल सुनचाँदी व्यवसायी संघसंग जोडिएको भएतापनि एक वर्ष पहिला नै वि.सं.२०४३ सालमा चितवनमा स्व.खड्कलाल विश्वकर्माको अध्यक्षता सुनचाँदी कला व्यवसायी संघको नामबाट आधिकारिक रूपमा पहिलो संगठन अस्तित्वमा रहेको इतिहास पाइन्छ । आजसम्म व्यवसायीहरुको संख्या २२ हजार हाराहारी पुगेको छ । यस मध्ये आधा भन्दा बढी त हामीले नेतृत्व गरेको सबभन्दा ठूलो छाता संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको ८१ वटा जिल्ला तथा नगर संघहरुमा आवद्ध सदस्यहरु हुनुहुन्छ भने वाँकी सदस्यहरु हाम्रा समकक्षी महासंघ अन्तर्गत र अन्य क्षेत्रिय संघहरुमा हुनुहुन्छ । व्यवसायीहरु जतिसुकै र जुनसुकैमा संगठित भएता पनि सबैको चाहना एउटै हो “स्वच्छ र सुरक्षित व्यवसायिक वातावरण निर्माण” । हामी सबै आ–आफ्‌नो क्षमता र योग्यताले भ्याएसम्म उपलब्ध साधन श्रोतको अत्याधिक उपयोग गर्दै आ–आफ्‌नो ठाउँबाट “स्वच्छ र सुरक्षित व्यवसायिक वातावरण निर्माण” प्रयासरत छौं ।

व्यवसायिक अवस्था
अहिलेको व्यवसायिक अवस्था भने त्यति सन्तोषजनक छैन् । विशेषगरी कोरना कहरपछि उत्पन्न विश्वव्यापी आर्थिक मन्दीसंगै एकातिर मानिसको क्रयशक्तिमा ह्रास आइरहेको, अर्कोतिर कोरोना कहर पूर्व सत्तरी हजारको हाराहारीमा रहेको सुनचाँदीको दरभाउमा गएको ५ वर्षमा एकलाख थपिएर एकलाख सत्तरी हजार माथि पुगिसकेको छ । राज्यले करको दायरा दिनानुदिन फराकिलो बनाउँदै लगिरहेको छ ।  झन् भन्दा झन् कडा नियम कानूनहरु थपिदैँ छन् । Go-Aml को अनिवार्यता, कर प्रणालीमा ल्याएको उतार चढाव, सुन आयात तथा खरिद विक्री वितरण सम्बन्धी कार्यविधिमा थालेको परिवर्तन, नीति निर्देशिकाको अभावमा बजारमा देखिएको अराजकता, एकाधिकार आदि कारणले अहिले सुनचाँदीको व्यवसायिक वातावरण अत्यन्त दयनीय अवस्था छ ।

संस्थागत परिस्थिति
नेपाल सुनचाँदी व्यवसायी महासंघको जननी बनेर रहेको तत्कालिन नेपाल सुनचाँदी व्यवसायी संघ (केन्द्र)को समयमै उचित व्यवस्थापन गर्न नसक्दाको परिणामले उब्जाएको समस्याहरुले लामो समयसम्म गांजीरह्यो । महासंघदेखि नगरसम्म घ्रुवीकरणको स्थीति देखा पर्‍यो, सोच र दृष्टिकोणमा समानता र मतमा एक्यबद्धता हुन सकेन । यसको असर महासंघले दिनुपर्ने सेवा सुविधाहरु र कृयकलापमा राम्ररी देखिन थाले । फलतः न व्यवसायिक निर्देशिका बन्यो, न व्यवसायी मैत्री अन्य ऐन नियम बने, न त सदस्यता विस्तार भए, न त विधान संशोधन, संस्था जीवित राख्ने नियमित काम बाहेक लगभग सबै जसो कामहरु प्रायः ठप्प जस्तो भए । लामो समय सम्म हामी सबै किंकर्तव्यविमूढको स्थितिबाट गुज्रिरह्यौं । यसैले पनि करिब नौ महिना पहिलासम्म महासंघको संस्थागत गतिमा उतार चढाव जस्तो भइरहे । कथाले मागेपछि अहिले विस्तारै स्थीति उल्टिदैछ, प्रतिकूलताहरु अनुकूलतामा परिवर्तित हुँदैछन् ।

वर्तमान कार्यसमिति र महासंघ
आजको मितिले ठिक नवौं महिना पहिला २०८१ असार १५ गते ३७ वर्षको व्यवसायिक इतिहासमा पहिलोपल्ट पूर्ण प्रजातान्त्रिक पद्धतिबाट व्यवसायीहरुको प्रत्यक्ष मतले वर्तमान कार्यसमिति निर्वाचित भएको छ । यो टिमले आफ्‌नो चुनावी अभियानका दौरानमा गरेका ३२ बुदेँ प्रतिवद्धताहरुलाई विश्वास गरेरै मतदान गरेका हुन भन्ने हाम्रो बुझाइ छ । हामीलाई विजयी गराउनु भनेको हाम्रा प्रतिवद्धताहरु अनुमोदन गर्नुपनि हो । तसर्थ आफ्‌नो उत्तरदायित्व ठानेर योजनाबद्ध रुपमा हामीले गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्नेतिर अग्रसर भएका छौं ।
हामी आएसंगै महासंघमा एउटा रौनकता थपिएको महशुस गरेका छौं । भौतिक रुपमा महासंघ काठमाडौँमा अवस्थित भएपनि, अब महासंघ काठमाडौँमा मात्र सिमित रहेन । पूर्व मेचीदेखि पश्चिम महाकाली, दक्षिण मधेश देखि उत्तर हिमालसम्मका सातै प्रदेश अर्थात सातै रङ्गहरूको एउटा इन्द्रेणी जस्तो विविधतामा एकरुपता देखिन थालेको छ “महासंघ” । उपत्यका बाहिरले पनि समग्र व्यवसायीहरुको सामूहिक प्रतिनिधित्वको केन्द्रीकृत भूमिका निभाइरहेको छ ।
छोटो अवधिमा पनि कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार, संरचनागत सुधार लगायतका कामहरु सम्पन्न भैसकेको छन् । आवश्यक नीति विधि प्रविधिहरु सबै उपलब्ध गराई सकेका छौं । मानौं वायुयान तयार गरेर धावनमार्ग ल्याईनै सक्यौँ अब वाँकी छ त केवल उडान भर्न ।

नवौं महिनामा महासंघले भोगेका चुनौतीहरु
महाधिवेशनको संघारमा प्रतिनिधिको विषयमा र निर्वाचन पश्चात लगत्तै महासंघको आधिकारिकता माथिको कानूनी समस्याहरु खेप्नु पर्‍यो । यो नै हाम्रो सबभन्दा ठूलो र पहिलो चुनौति रह्यो । दोस्रो रह्यो हामी आउनु भन्दा एक महिना अगावै राज्यलै सुनमा लाग्दै आएको १५ प्रतिशत भन्सार शुल्कमा वृद्धिगरी २० प्रतिशत पुर्‍याएको थियो । पछि छिमेकी राष्ट्र भारतमा घटेर ६ प्रतिशत पुग्दा समेत नेपालमा लामो समयसम्म समायोजन भएन । यो हाम्रो अर्को चुनौति थियो ।
पछिल्लो चरणमा राज्यले हाम्रो प्रत्यक्ष संलग्नता बिना नै सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि–२०६८ लाई परिमार्जन गर्न लागिपरेको छ । यो नै हाम्रा लागी अहिले गम्भीर चुनौतिको विषय बनेको छ । अन्य दैनिक, नियमित र आकस्मिक भइपरी आउने विषय र समस्याहरु त कति आउँछन् जान्छन् यिनको लेखा जोखा गर्न जरूरी छैन् ।

महत्वपूर्ण उपलब्धिहरु
महासंघ विरुद्धमा उठाइएका कानूनी समस्याहरुलाई किनारा लगाउन सफल भयौ, फैसाला हाम्रो पक्षमा भयो यो नै सबभन्दा महत्वपूर्ण पहिलो उपलब्धी रह्यो । राष्ट्र बैंक देखि बैंकर्स एसोसिएसन, अर्थ मन्त्रालय, आपूर्ति मन्त्रालयसम्मको पटक पटक भेटघाट, छलफल डेलिगेसन, अन्तरक्रिया पश्चात राज्यलाई बुझाउन सक्यौं र बृद्धि भएको सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झार्न सफल भयौँ । यो पनि हाम्रो महत्वपूर्ण दोस्रो उपलब्धी थियो ।
भन्सार वृद्धिका कारण छिमेकी देश भारतमा भन्दा करिब १८ हजारसम्म र चीनमा भन्दा २४ हजारको हाराहारीमा नेपालमा सुनको मूल्य महंगो भएका कारण २०८० फागुन देखि ठूलो परिमाणमा सुन बैंकहरुमा होल्ड हुन थालेका थिए भने राष्ट्र बैंकले सुन आयात गर्ने प्रक्रिया नै प्रवाहित भएको थियो । एक किसिमले व्यवसायीहरुले सांकेतिक रुपमा राज्यले गरेको भन्सार वृद्धि विरुद्धको अभिव्यक्ति पनि सायद थियो । हामीहरु आइसकेपछि व्यवसायीहरुलाई विश्वस्त गरेर बैंकमा थुप्रिएका सुनहरु पनि उठाइए र अवरुद्ध प्रायः भएको सुनको आयात र वितरणलाई पहिलाकै लयमा सुचारु गर्न सफल भयौं । पछि भन्सार दर घटेपछि त झन् सजिलो भयो ।
राज्य आफैंले राष्ट्र बैंक, बैंकर्स एसोसिएसन, अर्थ मन्त्रालय, आपूर्ति मन्त्रालय र चेम्बर अफ कमर्सको संयुक्त कार्यदल बनाएर २०६८ को कार्यविधि परिवर्तनका लागि अघि बढेको छ । हामी हाम्रो महासंघको नेतृत्व नियमित फलोअपमा रहेका छौं, बजारमा जे जस्तो हल्ला चलाइए पनि हामीले सोचे जस्तै देशभरका ठूला देखि दुरदराजका व्यवसायीहरुको पहुँचमा पुग्नेगरी नीति विधि बनोस् भनि सुझाव पत्र पेश गर्ने देखि धेरै पटक छलफल र कुराकानी गरिरहेका छौं । कथंकदाचित अब बन्ने नीति व्यवसायीको पक्षमा आएन भने हामी चुपचाप स्वीकार्ने पक्षमा छैनौं, आवश्यक परे हामी आन्दोलनमा समेत उत्रिने तयारीमा लाग्ने छौं ।

अन्य कामहरु
हामीले महासंघको तीन वर्षे रणनीतिक कार्ययोजना तयार गरिसकेका छौ । त्यसरी नै हाम्रो ड्रिम प्रोजेक्टको रुपमा रहेको व्यवसायिक नीति निर्देशिका तयार नहुँदा सम्मको लागि व्यवसायिक आचारसंहिता २०८१ तयार गरी लागु गर्ने तरखरमा छौं । तीन महासंघको संयुक्त कार्यदलमा बसेर हाम्रो अगुवाइमा व्यवसायिक नीति निर्देशिकाको खाका तयार गर्दैछौं र सोको लागि हाम्रो महासंघको तर्फबाट कार्यदलमा पेश गर्ने मस्यौदा प्रतिवेदन करिब करिब पूरा गरिसकेका छौं । आशा गरौँ हाम्रै कार्यकालमा व्यवसायीले व्यवसायिक निर्देशिका पाउनेछौं । यसको अलावा महिलाको प्रतिनिधित्वलाई बढाउने र छुट्टै महिला सेल स्थापना गर्ने गरी विधान संशोधन गर्न लागेका छौं । समग्रमा पहिलो वर्ष हामीले नीति निर्माण र केहि महत्वपूर्ण उपलब्धिहरु प्राप्त गरेर पूरा गर्दैछौं ।

भावि योजनाहरु
पहिलो त नीति निर्देशिका निर्माण हो, दोस्रो प्रक्रियामा रहेको कच्चापदार्थ आपूर्ति र विक्री वितरण कार्यविधि व्यवसायीको पक्षमा अद्यावधिक गर्ने, तेस्रो महासंघको आफ्‌नो भवन निर्माण, एउटै महासंघ निर्माण, व्यवसायिक राहत कोषको स्थापना हाम्रा महत्वपूर्ण योजनाहरु हुन् । वर्तमान कार्यसमितिकै कार्यकालमा यी योजनाहरु पूरा गरी छाड्ने लक्ष्यका साथ हामी अगाडि बढेका छौं ।

उपसंहार,
हाम्रो कार्यसमिति निर्वाचित पछि पनि विभिन्न कुनाबाट कराउने केहि मुठ्ठीमा अट्ने तत्वको अड्चन, दुस्प्रचार र दिएको कानूनी व्यवधानले पक्कै पनि हाम्रो गतिमा सुस्तता आएको जस्तो पनि देखियो होला तर हामी निरन्तर हाम्रो लयमा छौं । हामी हाम्रो अर्जुन दृष्टिबाट कत्ति पनि बिचलित भएका छैनौं । हाम्रा पहलहरु जारी छन् । यसैगरी यहाँहरुको साथ, सहयोग र भरोसा कायम रहे, हामी हाम्रा व्यवसायीहरुलाई ढुक्कसंग गरिखाने व्यवसायिक वातावरण बनाउन सफल हुनेछौं ।

(लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुनुहुन्छ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्