जीपी कोइरालाको हेमोडाइलासिस सेवाको स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने, मुटु परीक्षणका लागि निःशुल्क वृहत शिविर

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा निर्मित हेमोडाइलासिस सेवाको बिहीबार उद्घाटन गर्ने भएका छन् । केन्द्रमा निर्मित हेमोडायलासिस युनिटको बिहीबार बिहान १० बजे उद्घाटन तय भएको सदस्य त्रिलोचन लम्सालले बताए । केन्द्रको यस सेवाका लागि हालै मात्र मन्त्रालयले स्विकृति दिएको थियो ।
अब १५ जनालाई डायलासिस सेवा दिन सकिने निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।


यसै अवसरमा केन्द्रमा मुटुका बिरामीको निःशुल्क वृहत परीक्षण शिविर हुने भएको छ । स्वास्थ्य मन्त्री पौडेलको नसर्ने रोगविरुद्ध सचेतना अभियानका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले निःशुल्क परीक्षण शिविर गर्दैछ


अस्पताल १ हजार शैय्याको बनाउने पहल
मन्त्री पौडेलले अस्पताललाई एक हजार शैय्या क्षमतामा विकास गर्नका लागि भारतीय स्वास्थ्य मन्त्री जेपी नड्डासँग वार्ता गरेका छन् । भारतबाट सकारात्मक जवाफ आएसँगै हाल मन्त्रालयबाट परराष्ट्र हुँदै फाइल भारतीय दूतावासमा पुगेको छ । अस्पतालको स्तरोन्नतिका लागि केही समयभित्रै सकारात्मक खबर आउने आशा गरेको विकास समिति सदस्य लम्सालले बताए ।


मन्त्री पौडेलले केन्द्रलाई स्वासप्रस्वास सम्बन्धी उपचार तथा अध्ययन अनुसन्धानको केन्द्र बनाइने बताउँदै आएका छन् ।
मन्त्री पौडेल केन्द्रको कार्यक्रमपछि दमौलीमा विचार गोष्ठीमा सहभागी हुनेछन् । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आयोजना गरेको विचार गोष्ठीमा मन्त्री पौडेल दिउँसो १२ बजे सहभागी भएर प्रवचन दिने कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्