‘बढी भाडा लिए ठाउँको ठाउँ कारबाही’

  • ख-
  • ख+

दमौलीः सार्वजनिक यातायातका साधनले बढी भाडा लिए नलिएको अनुमगन गरिने भएको छ । सरकारले पूर्ण सिट क्षमतामा यात्रु चढाएर पुरानै भाडा लिन भने पनि पत्राचार नभएको भन्दै तनहुँमा सार्वजनिक यातायातका साधनले ५० प्रतिशत बढी भाडा लिएको सार्वजनिक भएको थियो ।


सरकारले निर्णय गरेपश्चात एक पटक लागू भैसके पनि पृथ्वी राजमार्ग कम्पनी प्रालिले फेरि निर्णय बदलेर ५० प्रतिशत बढी भाडा लिएको थियो । अन्य कम्पनीका यातायातका साधनले पनि बढी भाडा लिएको गुनासो यात्रुले गरेका थिए । ती साधनले भाडा बढी लिए पनि बसका सिट भने सबैमा यात्रु राख्ने गरेका थिए ।

सरकारले यस अघि आधा क्षमतामा बस चलाउँदा भाडामा ५० प्रतिशत वृद्धि गर्न सकिने बाटो खुलाएको थियो । तर त्यो निर्णय परिवर्तन भैसकेको छ ।
यात्रुका गुनासा बढी आए पछि अब ठाउँ ठाउँमा आकस्मिक अनुगमन गरेर भाडा बढी लिए नलिएको पत्ता लगाउने र दोषी माथि कारबाही गरिने ट्राफिक प्रमुख रेशम रानाभाटले बताए । ‘सर्वपक्षीय अनुगमन गरेर बढी लिएको र मापदण्ड पालना नगरेको पाइए ठाउँको ठाउँ कारबाही गर्छौं,’ उनले भने ।


बल्ल परिपत्र आयोः व्यवसायी
यातायात कम्पनीका प्रतिनिधिहरुले बल्ल परिपत्र भएकाले अब पुरानै भाडा लिने बताएका छन् । ‘आजबाट पुरानै भाडा लिएका छौं,’ पृथ्वी राजमार्ग यातायात कम्पनीका सञ्चालक ओमप्रकाश कार्कीले भने । ट्राफिक प्रहरीले पनि नयाँ परिपत्र आएकाले अब पुरानै दरमा भाडा लिए नलिएको अनुगमनका लागि मातहतका एकाईमा पत्राचार गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी