मानव अधिकार आयोगको अपील : शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाऊ, शान्ति सुरक्षाप्रति गम्भीर होऊ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो । 

प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो । आयोगले बिहीबार उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ ।

छलफलका क्रममा सुरक्षा अधिकारीले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएका छन् । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्नसमेत निर्देशन दिएका छन् ।

आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोगले आग्रह गरेको छ । त्यस्तै साथै, उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकार प्रति संवेदनशील हुन सरकार र सुरक्षा अधिकारीलाई आयोगको आग्रह छ ।(कान्तिपुरबाट साभार )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्