
पोखरा : नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई ७ दिनभित्र कारबाही गर्नुपर्ने माग गर्दै कास्कीका नेवि संघका केन्द्रीय सदस्यहरू आन्दोलित बनेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति बरालले स्वतन्त्रको पैरवी गर्दै नेपाल विद्यार्थी संघलाई हराउन लागेको उनीहरुको आरोप छ । कास्कीबाट प्रतिनिधित्व गर्ने ११ जना नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी पनि दिएका छन् ।
पोखरामा विहीबार यहाँ उपलब्ध केन्द्रीय सदस्यहरूले पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र पठाएको जानकारी गराए । उनीहरुले अनुशासन समिति कास्की, गण्डकी कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएको जनाएका छन् ।
‘आजका मितिबाट ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्दछौँ,’ उनीहरुले विज्ञप्ति मार्फत भनेका छन् ।
पार्टीको सभापति पदमा बसेर स्वतन्त्र उम्मेदवारको पक्षमा लागेर नेवि संघलाई नै हराउने गरी प्रस्तुत भएको बताए । कास्की काँग्रेसका सभापति बरालले सामाजिक सञ्जाल मार्फत स्ववियु निर्वाचनबारे लेखेका थिए– ‘शिक्षण संस्थालाई राजनीति होइन, ज्ञान र नेतृत्व विकासको केन्द्र बनाउनु अपरिहार्य छ ।’
स्ववियु निर्वाचन भएका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । लामाचौरमा स्वतन्त्र उम्मेदवार विजयी भए भने पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । विशेषगरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा नेवि संघबाट सचिवको उम्मेदवार समेत भएनन् । यसैकारण पनि नेवि संघ आन्दोलित बनेको हो ।
सभापतिकै कारण पराजय भोग्न परेको र उम्मेदवारी दिनसमेत वञ्चित भएको केन्द्रीय सदस्य अञ्जान थापाले आरोप लगाए ।
लामाचौर क्याम्पसमा नेविसंघले सचिवमा उम्मेदवारी दिएपनि नेविसंघकै केन्द्रीय सदस्य रेजिना खड्का मार्फत मनोनयनपत्र च्यात्न लगाएको आरोप केन्द्रीय सदस्यहरूको छ ।
सबै गतिविधि सभापति बरालको निर्देशनमा भएको आरोप केन्द्रीय सदस्य नसिब गुरुङले लगाए । स्ववियु निर्वाचनका लागि चन्दा उठाएर रकम अपचलन गरेको आरोप पनि उनीहरुले लगाए ।
केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले सभापति बराल पार्टी बनाउन भन्दा बिगार्न उद्धत भएको आरोप लगाए । केन्द्रीय सदस्यहरुले पिएनमा पार्टी सचिव भानु ढकालले स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेको स्पीकर फालेर नेवि संघको विपक्षमा विद्यार्थीहरुलाई लाग्ने माहौल सिर्जना गरेको आरोप पनि लगाएका छन् । बराललाई ७ दिनभित्र साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न नेविसंघ केन्द्रीय सदस्यहरुको माग छ ।
यसैबीच, पार्टी सभापति किशोर दत्त बरालले भने स्ववियुमा राजनीतिक दलको हस्तक्षेप हुनुहुँदैन भन्नेमा आफू दृढ रहेको र आम विद्यार्थीको भावना पनि यही भएको बताउँदै गलत गरेको भए कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले संकलित रकमको बारेमा केही समयपछि पारदर्शी रुपमा सार्वजनिक गर्ने पनि बताएका छन् । गण्डक न्यूज