
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई गाउँको विकासको लागि यतिबेला दिनहुँ सिंहदरबार धाई रहेका छन् । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि रकम विनियोजनको तयारी गरिरहेकोले तनहुँको विकासको लागि नेता भट्टराई सिंहदरबार धाएका हुन्।
विभिन्न मन्त्रालयमा पुगेर मन्त्री, मन्त्रालयका सचिवलाई भेट्न नेता भट्टराईलाई भ्याइनभ्याई छ । भौतिक पूर्वाधारहरु सडक, पुलपुलेसाका साथै सिंचाई, खानेपानी, पर्यटन पूर्वाधारको बजेट विनियोजन गर्न नेता भट्टराई निवेदन बोकेर पुग्नु भएको छ । उपनिर्वाचनमा पराजित भएपनि विकासको कामको लागि किन सिंहदरबार धाउनु भयो भन्ने जिज्ञासामा भट्टराईले गाउँको विकासको लागि राजनीति गरेकोले मन्त्रालयमा धाएको बताए । व्याक्तिगत स्वार्थ नभई जनताको आवश्यकतालाई प्राथमिकताको आधारमा विकासको निवेदन लिएर गएको बजेट पार्न सफल भएको नेता भट्टराइले बताए । यतिबेला बजेट पार्नको दबाब नदिने हो भने छुट्न सक्ने भएकोले दिनहुँ सिंहदरबारमा पुगेको भट्टराईको भनाई थियो ।
तनहुँको तीन स्थानलाई धार्मिक धामको रुपमा विकास गर्न पहिलो प्राथमिकता राखेको भट्टराईले बताए । देवघाट, व्यासको जन्मभूमि दमौली, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई धार्मिक धाम बनाउन बजेट विनियोजनको लागि पहल थालेको भट्टराइले बताए । त्यस्तै पर्यटकको नयाँ गन्तव्यको रुपमा नेपालमै सबैभन्दा धेरै सहिद भएको सहिदको गाउँ पुलिमराङ, मिर्लुङकोटलाई बजेट पार्नको लागि धाईरहेको भट्टराईले बताए । बन्दीपुर, धरमपानी, टुटेपानी, थानीमाई लगायतको क्षेत्रको पर्यटन विकासको लागि खटिरहेको भट्टराईले बताए ।
खानेपानीको अभावले महिलाहरु डोकोमा गाग्री बोक्न थाप्लोमा नाम्लोको डाम नहोस् भन्नको लागि धाइरहेको उहाँको भनाई थियो । नेता भट्टराईकै पहलमा घुमाउनेको झोलुङ्गे पुलको लागि बजेट परेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका– २९ जोड्ने घुमाउने झोलुङ्गे पुल गत असोज ११ र १२ गते त्रिशुली नदीमा आएको बाढीले पुल क्षतिग्रस्त बनाएपछि आवत जावतमा समस्या परेपछि मर्मतको लागि पाँच लाख बजेट परेको हो । सोही ठाउँमा बन्दै गरेको मोटर गुड्ने पुलको डिजाईन परिबर्तनको कारणले गर्दा थप ढिलाई भएको प्रति नेता भट्टराईले ध्यानाकार्षण गर्नु भएको छ ।
गत असोजमा आएको बाढीले पुलको पिल्लर डुबानमा परेपछि डिजाईन परिबर्तन गर्नु पर्ने भन्दै निर्माणमा ढिलाई भएको छ । भट्टराईले भने, ‘यो वा त्यो बाहाना नगरी तुरुन्त डिजाइन बनाउन लगाएर कामलाई गतिदिन सम्बन्धि मन्त्रीसँमक्ष मैले आग्रह गरेको छु ।’