
दमौली : तनहुँको सबै भन्दा अग्लो स्थान छिम्केश्वरीमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक बसेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा आज शाखाको बैठक बसेको हो ।
जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्य सहित महासङ्घले घुम्ती बैठक आयोजना गर्ने निर्णय बमोजिम फागु पूर्णिमाको अवसर पारी छिम्केश्वरीमा शाखाको बैठक सम्पन्न भएको छ ।
बैठकले छिम्केश्वरी र बुढीमाइको सञ्चारमाध्यमबाट प्रचारप्रसार र प्रबद्र्धन गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ । छिम्केश्वरीको पछिल्लो समयमा प्रचारप्रसार भए पनि मनकामनाको जेठी दिदीको रुपमा मानिने बुढीमाई ओझेलमा रहेकाले यसको प्रचार प्रसारका लागि सञ्चार माध्यमबाट सहयोग गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।
शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला स्थित सबै सञ्चार माध्यमको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी बैठक भानुको पर्यटकीय गाउँमा बस्ने निर्णय बैठकले गरेको छ ।