
भीमादः निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत भिमाद नगरपालिका–५स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।
श्रृंग पथअन्र्तगत भिमाद–ऋषिङ खण्डमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने गरी सपना निर्माण सेवा सँग २३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लिकातर्फबाट प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र सपना निर्माण सेवाकातर्फबाट प्रबन्ध–सञ्चालक हरिप्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गरे। निर्माण सेवाले ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले उल्लेख गरेको छ ।
वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुबानमा पर्नेछ ।
अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुने भएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले जानकारी दिए ्
भिमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्रे भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रुपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित हुने आयोजनाको भनाइ छ ।