
दमौलीः व्यास नगरपालिकाले व्यास १३ मा बनाउने तयारी भैरहेको फोहोरमैला वर्गीकरण केन्द्रको जग्गा खरिदका विषयमा अडियो प्रकरणमा सहभागी तीन कर्मचारीलाई विभागीय कारबाहीका लागि पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यपालिका बैठकले आलेप अधिकृत कुमार कञ्चन जिसी, स्वास्थ्य साखा प्रमुख प्रमोद सोती तथा कर्मचारी कृष्णराज घिमिरेलाई निलम्बन गरिएकामा निरन्तरता दिंदै कानुन बमोजिम कारबाहीका लागि पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले यसअघि चार जनालाई सात दिने स्पष्टीकरण सोधिएकामा चालक कुशेश्वर गुरुङले गल्ती भएको भन्दै क्षमा मागेकाले निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
गत साता सार्वजनिक अडियोमा जग्गाा खरिदमा आफूलाई आर्थिक लाभ नभएमा अघि बढाउन नदिने तथा नगरपालिकामै आगो लगाउने कर्मचारीको भनाइ सार्वजनिक भएको थियो । आफूहरुले चाहेमा जग्गा अधिग्रहणको काम हुने तर नचाहेमा अख्तियार लगायतका निकायमार्फत अवरोध हुने भन्दै कर्मचारीहरुले जनप्रतिनिधि र कार्यकारी प्रमुखविरुद्ध अभिव्यक्ति दिएका थिए ।
अडियो सार्वजनिक भए पछि जनप्रतिनिधि तथा नागरिकस्तरबाट समेत कर्मचारीहरुविरुद्ध कारबाही हुनुपर्ने आवाज उठिरहेको छ ।
कार्यपालिका बैठकमा एकै ठाउँमा रहेको चालकबाट गल्ती भएको भन्दै माफी आएको तर अन्य ३ जना कर्मचारीबाट एकै मिलानको भाषा तथा हस्तलिखित स्पष्टीकरणमा घटनाक्रम अस्वीकार गरी छानविनको माग भई आएकोले एकै स्थानमा बस्ने कर्मचारीहरु बीच फरकफरक स्पष्टीकरण प्राप्त भएकोले पुनः स्पष्टीकरण माग गरी कानुन बमोजिमको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ ।
बैठकले व्यास नगरपालिकामा भएको राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरुसँगको संयुक्त बैठकमा सबै पक्षको राय सुझावमा सरसफाई व्यवस्थापन केन्द्रको स्थायी व्यवस्थापन हुनुपर्दछ भन्ने परामर्श प्राप्त भएको भन्दै हालको जग्गा खरिदको प्रक्रियालाई टुङ्गोमा पुरÞ्याउन वा वैकल्पिक व्यवस्थापनमा सबै राजनैतिक दलको सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले व्यास नगरपालिका वडा नं.११ गैराबारीमा रहेको निर्माण सम्पन्न चिस्यान केन्द्रको सञ्चालनका लागि पटक पटक सूचना प्रकाशन गरेर सहकारी र कृषि समूहलाई अनुरोध गर्दा समेत कुनै सहकारी र कृषि समूहले सञ्चालनमा सहभागी हुन नआएकाले व्यास नगर कार्यपालिका के तर्फबाट सञ्चालनको जिम्मेवारी लिने निर्णय समेत गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।