
काठमाडौं । बाँदर र जंगली सुँगुर बँदेलले खेतीबाली नष्ट गरिदिँदा किसानहरु हैरान छन् । विभिन्न अध्यनले नेपालका ग्रामिण क्षेत्रका किसानहरू बाँदर र जंगली सुँगुरका कारण विस्थापित हुनुपर्ने अवस्थामा रहेको देखाएका छन् ।
संसदीय समितिको अध्ययनले समेत किसानलाई पहाडमा बाँदर र मधेसमा बँदेलले हैरान पारेको निष्कर्ष निकालेको छन् । समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
प्रतिनिधि सभामा ग्रामिण क्षेत्रमा बाँदर र बँदेलको आतंक नियन्त्रणको उपायबारे छलफल हुँदैछ । यससम्बन्धमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका थिए । त्यही जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।
कांग्रेस सांसद बजगाईंले लगेको प्रस्तावमा नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जंगली सुँगुर को आतंक रहेको उल्लेख छ । जसबाट खेतीबाली नष्ट भई किसानहरुको सुरक्षामा समेत खतरा पैदा भएको भनेर बजगाईंले यो समस्याको दिर्घकालीन समाधानको उपाय खोजिनुपर्ने बताएका छन् ।
बाँदर र बँदेलबाट कृषिबाली जोगाएर किसानहरूको सुरक्षा गर्नुपर्ने उनको माग छ । कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राखका लागि नीति निर्माण र कार्यान्वयनमा जोड दिंदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा लगेका हुन् । यसको प्रस्तावका समर्थकमा कांग्रेसकै सांसदद्धय उदय शम्शेर जबरा र संजय कुमार गौतम रहेका छन् ।
बाँदर नियन्त्रणका लागि वैकल्पिक उपाय र बंदेल व्यवस्थापनका लागि शिकारी नीति आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ । (अनलाईन खबरबाट साभार)