सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उहाँलाई शुभकामना आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताउनुभएको हो।

“सेवा प्रवाहका कुरामा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुशासन कायम गर्ने काममा मलाई मद्धत गरेर शुभकामनालाई  सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ। यसलाई हटाउनु छ। मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन। हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ। विकास निर्माणका लागि ठेक्का लगाउँछौँ। यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो।’’

सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिव र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो। 

यसै बिच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी हुनुभएको छ। गोरखापत्र अनलाइन बाट साभार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्