ओडिसा घटनापछि चार नाकाबाट घर फर्किए ३०१ विद्यार्थी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट फर्किएका विद्यार्थी विभिन्न नाकाबाट स्वदेश आइपुगेका छन् । शुक्रबारसम्म झापाको काँकडभिट्टा नाकाबाट २०, भैरहवाको बेलहियाबाट ३६, विराटनगरको जोगबनीबाट ८३ र वीरगन्ज नाकाबाट १६२ गरी ३०१ विद्यार्थी आइपुगेका हुन् । 

विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थितिका कारण नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निष्कासन गरेको थियो ।

घटनापछि विश्वविद्यालय प्रशासनले करिब ८ सय नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेसनमा अलपत्र छाडेको थियो । विद्यार्थीहरूका अनुसार साथीको शंकास्पद मृत्युपछि न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले ‘बाउन्सर’ प्रयोग गरी आक्रमण गरेको थियो ।

सुनसरीका सुन्दर साह (नाम परिवर्तन) सहितको एक टोली पहिलो दिन रेल टिकट नहुँदा ओडिसाको राजधानी भुवनेश्वरमै अलपत्र परेको थियो । रेल्वे स्टेसनमै रात काटेका उनीहरूले दोस्रो दिन बल्लतल्ल ‘तत्काल’ कोटामा टिकट काटेर कोलकातासम्मको लोकल रेल समातेका थिए । कोलकाताको हावडा स्टेसन ओर्लिएपछि विभिन्न ठाउँमा १० वटा सवारीसाधन फेर्दै कटिहार, पूर्णिया, फारबिसगन्ज हुँदै जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको उनीहरूले बताए ।

‘तीन दिनसम्म भोकभोकै यात्रा गर्नुपर्‍यो,’ सुनसरीकै राकेश यादवले भने, ‘धेरैजसो हामी बेखर्ची थियौं । फोनमा ब्यालेन्स हाल्ने पैसा पनि थिएन । ज्यान जोगाएर फर्कनुपर्‍यो ।’ विराटनगरकी रिता चौधरी (नाम परिवर्तन) ले घटनापछि विश्वविद्यालय फर्कन मन नभएको बताइन् । उनले विश्वविद्यालय प्रशासन र भारतीय विद्यार्थीबाट आफूहरूलाई असुरक्षा भएको बताइन् ।

‘साथीहरूमाथि निर्मम आक्रमण भयो, मलाई चाहिँ अब त्यो कलेज सुरक्षित छैनजस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘मेरो त फर्किने टुंगो नै छैन ।’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले आएका जति सबैलाई गन्तव्यतिर पठाइएको जानकारी दिए । कान्तिपुरबाट साभार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्