
दमौली: शुक्रबार देखि छैटौं व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका वडा नं ३ विपीवनबाटिको नवनिर्मित कवर्ड हलको उदघाटन तथा छैटौं मेयर कप व्याडमिन्टन प्रतियोगिता खेलको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले उदघाटन गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा,व्यास–३ का वडाध्यक्ष अनुप राना लगायतका वक्ताहरुले व्यास नगर क्षेत्रलाई खेलकूदको हब बनाउने गरी खेलकूदलाई प्राथामिकता र प्रोत्साहन गर्दै आएको बताए ।जिल्लामै पहिलो पटक धेरै इभेन्टमा व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको व्यास नगर व्याडमिन्टन क्लबका अध्यक्ष कुमार गुरुङले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा १ सय ८ समुहका २ सय १६ जना खेलाडीले भाग लिएका छन् । बी लेभलका १६ टीम,सी लेभलका ४६ टीम,डी लेभलका १५ टीम,विद्यालयस्तरका १७ र ५० बर्ष माथिका १४ टीमले प्रतियोगितामा भाग लिएका छन् । डि लेभलको व्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार,द्वितीय ३ हजार,विद्यालय लेभलको प्रथम पुरस्कार १० हजार,द्धितीय पुरस्कार ५ हजार र सी लेभलको प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय १८ हजार,सान्तवना पुरस्कार दुई जनालाई जनही ६/६ हजारका दरले प्रदान गरिने छ ।
त्यसैगरी ५० बर्षमाथिको व्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार रु.३० हजार, द्वितीय पुरस्कार १८ हजार र सान्तवना पुरस्कार एक जनालाई ६ हजार रहेको छ । त्यसैगरी बी लेभलको प्रतियोगिताको प्रथम पुरस्कार ४० हजार,द्वितीय पुरस्कार २० हजार सान्तवना दुई जनालाई जनहरी १०/१०हजारका दरले पुरस्कार,मेडल,ट्रफी प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव कृष्णराज घिमिरेले जानकारी दिए । कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष कुलबहादुर थापाले सहजीकरण गरेका थिए । उद्घाटन कार्यक्रममा भएको खेलमा डी लेभल खेलको प्रतियोगितामा काशीराम गैरे र अर्जुन सुनारको जोडी प्रथम र जीवन गुरुङ र राजु गुरुङको टोली द्धितीय भएको छ । उनीहरुले क्रमश ५ हजार,३ हजार,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।