
दमौली : जिल्लाको भानु नगरपालिका–५ स्थित नेपालडाँडा सिद्धबाबा सामुदायिक वन स्थित कालीमाटी खोल्सीमा महिला र पुरुष छुट्याउन नसकिने बेवारिसे शव भेटिएको छ ।
यही माघ २० गतेका दिन शव फेला परेकोले प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल दमौली, तनहुँको शव गृहमा राखिएको छ ।
हालसम्म पनि उक्त शवको सनाखत हुन नसकेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त मानिसलाई कोहि कसैले चिन्नु भएको भए इलाका प्रहरी कार्यालय भानु, तनहुँमा सम्पर्क राख्न आउनको लागि समेत अनुरोध गरिएको छ ।
उचाई ५ फिट ४ ईन्च, शरीरको माथिको भागमा लामो बाउला भएको रातो रंगको टिर्सट लगाएको, तल कालो पाईन्ट लागेको, पहेलो बकल सहितको कालो बेल्ट लगाएको, दाहिने खुट्टाको तिघ्रामा हरियो ट्याटु खोपेको जस्तो देखिने, यकिन नामथर वतन, उमेर, महिला र पुरुष छट्याउन नसकिने अबस्थाको मानिस रहेको प्रहरीले जनाएको छ ।