गिद्धको आरामका लागि तनहुँ जलविद्युतको आरामस्थल

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः आयोजनाको कामका कारण गिद्धको बासस्थान प्रभावित नहोस् भन्दै तनहुँ जलविद्युत आयोजनाले गिद्ध आरामस्थल निर्माण गरेको छ ।
व्यास ५ पाटन र ऋषिङ१ झापुटार क्षेत्रमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाले आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन भन्दै व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरेको जनाएको छ ।


त्यस क्षेत्र गिद्धको बासस्थानका रुपमा परिचित छ ।
आयोजनाले त्यस क्षेत्रमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ । हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ ।


फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन काठले ढाकिएको आयोजनाका प्रेस सल्लाहकार सचेन गौतमले बताए । उनका अनुसार पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । पोलमा गिद्ध सुरक्षित रुपमा बस्न सक्ने पनि उनको भनाइ छ । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त पोलहरु जडान गरिएका हुन् ।


व्यास नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब दुई सय रोपनी जग्गामा सञ्चालित केन्द्रमा व्यास नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसहारी पंक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खान्छन् ।


गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रुपमा आहारा लिनु पर्ने वाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए ।

साथै, आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।


व्यास नगरपालिका ३, ४, ५,६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ ।
तीन वटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको हालसम्म ६४ प्रतिशत निर्माण काम सम्पन्न भैरहेको उसले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी