पृथ्वी राजमार्गको ज्यानमारा सडकको मर्मत शुरु ‘भिडियोसहित’

  • ख-
  • ख+

दमौलीः धेरै दुर्घटना भैरहने तनहुँ छिर्कनेस्थित पृथ्वी राजमार्गको खाल्डा मर्मत थालिएको छ । कैयौं दुर्घटनामा परी घाइते तथा अंगभंग भैसकेको व्यास १२ छिर्कनेस्थित पृथ्वी राजमार्गको मर्मत थालिएको हो ।


पृथ्वी राजमार्गका खाल्डाखुल्डी मर्मत गर्ने क्रममा सडक डिभिजनले ठेक्का लगाएको एन्जल कन्स्ट्रक्सन कम्पनीले सडक मर्मत थालेको हो । कम्पनीले मुग्लिनदेखि मुसेखोला तथा मुसेखोलाबाट कोत्रेसम्मकै सडकको यस्ता भाग मर्मतको जिम्मा पाएको छ । कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँमा यस्ता सडक मर्मतको जिम्मा पाएको छ ।


छिर्कने खण्डको सडक मर्मत केही दिनमा सक्ने गरी काम भैरहेको कन्स्ट्रक्सनका प्रोप्राईटर केदार अधिकारीले बताए । राजमार्गका अन्य भागहरु सबैको मर्मत भने दशैं र तिहारको बीचमा सकिने उनले बताए । दशैं र तिहारमा पनि काम गरेर मर्मत सक्ने अधिकारीले दाबी गरे ।


राजमार्गको बीच भागमै भएका खाल्डाका कारण जोखिम बढिरहेको थियो । छिर्कने बजार क्षेत्रमा केही मिटरकै अन्तरालमा धेरै त्यस्ता खाल्डा थिए ।

परबाट नदेखिने भएकाले एकै पटक ब्रेक लगाउँदा धेरै जना सो खण्डको सडकमा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । केहीले सोही क्षेत्रमा भएको दुर्घटनामा ज्यान समेत गुमाईसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी