बन्दीपुर भ्रमण वर्षका लागि चार करोड ४३ लाख ५० हजार बजेट

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ बारे जानकारी दिन आयोजकले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ ।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।


उनले यस क्षेत्रकै प्रमुख गन्तव्य बनाउने गरि कार्यक्रम घोषणा गरिएको बताए । भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको छ ।

सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको संयोजक गुरुङले जानकारी दिए । “भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौँ”, उनले भने, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्‍याउने हाम्रो लक्ष्य छ ।”

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रबर्द्धन हुने आफूहरुको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउँमै कमाऔँ गाउँमै रमाऔँ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ । भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी