काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले उखुको समर्थन मूल्य तोकेको छ । सांसद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारलाई निरन्तर ताकेता गर्दै आएका थिए । उनले अघिल्लो महिना कृषिमन्त्री रामनाथ अधिकारी र अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर उखुको समर्थन मूल्य तोक्न लिखित माग गरेका थिए ।
सरकारले बिहीबार उखुको समर्थन मूल्य २० रुपैयाँ बढाएको छ । सरकारले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।
सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । सरकारले किसानलाई अनुदानवापत् दिने रकम भने तोकेको छैन । यसअघि सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
पश्चिम नवलपरासीबाट प्रतिनिधिसभाबाट सदस्य निर्वाचित सांसद चौधरीले उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा किसानमा मार परेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । पश्चिम नवलपरासी उखुका लागि देशकै पकेट क्षेत्रका रुपमा चिनिन्छ । साथै सांसद चौधरीले आवश्यक मलको व्यवस्था समयमै गर्न पनि सरकार सँग माग गरेका छन् ।