भानु : तनहुँको भानु नगरपालिका-९ बाइसजाँगर स्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती गरेका छन् ।
आलु खेतीबाट विद्यार्थीले आफ्नो अध्ययन खर्चको जोहो गर्ने भएका छन्। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी जमिनमा आलुखेती गरेका हुन् ।
विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई खर्चको जोहो गराउन आलुखेतीमा संलग्न गरिएको र ७० किलो आलु हालै रोपिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले छात्रावासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैँप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यले आलुखेती गरिएको जानकारी दिनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रति सम्मानको भावनासमेत जगाउने हुँदा खेती गरिएको उहाँ बताउनहुन्छ । आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई आयआर्जनसँग जोड्न र सस्कृति संरक्षण गर्ने उद्देश्यले पञ्चेबाजा बजाउने तालिम प्रदान गरिसकिएको प्रधानाध्यापक विकले जानकारी दिनुभयो ।
विद्यार्थीले बाजा बजाएर, तरकारी बिक्री गरेको आम्दानी आफैँले किताब, कपी, कलम लगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उहाँको छ । प्रधानाध्यापक बिकका अनुसार आम्दानी रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।