व्यासमा आठ सय गाईभैसीमा कृत्रिम गर्भाधान

  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिकामा आठ सय दुई वटा गाई भैसीमा कृत्रिम गर्भाधान गरिएको छ । चालु आर्थिक बर्ष ०८१/ ०८२ को पहिलो चौमासिकमा पाँच सय नौ गाई र दुई सय त्रियानब्बे वटा भैसीमा गर्भाधान गरिएको हो ।

पाँच सय ७२ कृषकका सात हजार तीन सय वटा पशुपन्छीलाई विभिन्न समस्याको उपचार सेवा एवं निःशुल्क औषधी वितरण गरिएको छ । नगरपालिकाले नश्ल सुधार कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको व्यास नगरपालिका पशुपन्छी शाखाका प्रमुख डा.मनोज बिश्वकर्माले जानकारी दिए ।

पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिनेछ ।
कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् ।

साथै जिल्लामा उत्पादन हुने दूध लगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नु पर्दैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि नगरपालिकाले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ ।
९५ जना कृषकलाई कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन संम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम समेत संचालन गरिएको प्रमुख बिश्वकर्माले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी