
दमौली : तनहुँको प्रसिद्ध धार्मिकस्थल व्यास गुफामा आयोजित सप्ताहज्ञान महायज्ञमा रु.दश लाख ४४ हजार २८९ चन्दा दान संकलन भएको छ । व्यास –३ स्थित व्यासऋषिको तपोभूमि व्यासगुफामा कार्तिक २१ देखि २८ गतेसम्म सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको थियो । आयोजक समितिका महासचिव ऋषिराम ढुङ्गानाले शुक्रबार पत्रकार सम्मेलन गरी महायज्ञको आय व्यय सार्वजनिक गरेका हुन् ।
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समिति र विश्व हिन्दु महासंघ नेपालको संयुक्त आयोजनामा विश्व ऊँकार हिन्दु महामिलन पर्वको अवसरमा महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा रसिदबाट चन्दा रु.नौ लाख ५५ हजार ७ सय ९४,मण्डप पुस्तकबाट रु. ५५ हजार २५ र दान पेटिकाबाट रु.३३ हजार चार सय ७० संकलन भएको वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका अध्यक्ष एवं प्रमुख वाचकत्व कृष्णकान्त काफ्लेले जानकारी दिए ।
उहाँका अनुसार दानदक्षिण,प्रसादी र सम्मान लगायतका कार्यमा रु.पाँच लाख ५० हजार ७ सय ८४ खर्च भई रु.४ लाख ९३ हजार पाँचसय पाँच बचत भएको छ । पत्रकार सम्मेलनमा आर्थिक समितिकी संयोजक निर्मला वाग्ले,समितिका केन्द्रीय सचिव अन्जानराज न्यौपाने,समितिका आजिवन सदस्य भाग्यशाली ढुंगाना लगायतको उपस्थिति रहेको थियो । व्यासगुफा परिसरमा निर्माणधीन अवस्थामा रहेको योग भवन सम्पन्न गर्न उक्त बचत रकम खर्च गरिने बताइएको छ ।
उक्त भवनका लागि व्यास नगरपालिकाले रु.१५ लाख बजेट बिनियोजन गरेको थियो । भवन निर्माणका क्रममा रु.२३ लाख ३५ हजार बराबर खर्च भएपछि आर्थिक संकलनका लागि महायज्ञको आयोजना गरिएको हो,उहाँले भने “महायज्ञको बचत रकमले नपुग रकम व्यास नगरपालिका र व्यास संरक्षक दामोदर बाबाबाट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।”
आध्यत्मिक सोचले व्यासक्षेत्रको विकास गर्न गतबर्ष देखि महायज्ञको आयोजना गर्दै आएको समितिले जनाएको छ ।बालबालिका,बृद्वबृद्वा,असक्त,तीर्थयात्रीलाई निःशुल्क भोजन र बासको व्यवस्था गर्दै आएको छौ, उनले भने“बाहिर जिल्लाबाट आउने पाहुनालाई तीन दिनसम्म खाने र बस्ने सुविधा समेत व्यवस्था गर्दै आएको छ ।” बौद्धिक सनातन धर्मको जर्गेना गर्दै व्यासऋषिको तपोभूमिलाई विश्वमाझ पुर्याउन प्रचारप्रसारका लागि महायज्ञ लगाइएको वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका संरक्षक दामोदर बाबाले बताए ।