लमजुङमा स्थानीय उत्पादनकै बिजुली वितरण

दमौली न्युज
  • ख-
  • ख+

लमजुङ : लमजुङमा जिल्लामै उत्पादित विद्युत् वितरण सुरु गरिएको छ । यसअघि तनहुँको दमौलीबाट ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत लमजुङमा विद्युत् वितरण हुँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख इन्जिनियर मेघनाथ भट्टराईका अनुसार बेंसीसहर नगरपालिका–१ उदीपुर दलालमा २२० केभी प्रसारण लाइन अन्तर्गतको सवस्टेशनबाट जिल्लामा विद्युत् वितरण गरिएको हो । उनले २२०/१३२/३३ केभी सबस्टेशनबाट लमजुङमा विद्युत् प्रवाह गरिएको बताए ।

लमजुङमा विद्युत् वितरणको लागि ५० एमभीएको पावर ट्रान्सफर जडान गरिएको छ । उक्त सवस्टेशनमा अहिले दोर्दी करिडोरमा निर्माण गरिएको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको विद्युत् जडान छ । सवस्टेशनको काम पूरा नभएकाले दोर्दी करिडोरका अन्य आयोजनाबाट उत्पादित विद्युत् यसअघि नै ७० मेगावाटको मध्यमर्स्याङ्दीमा ‘स्वीचयार्ड’ गरी राष्ट्रिय प्रसारणमा लगिएको छ ।

उक्त सवस्टेशनमार्फत जिल्लामा विद्युत् प्रवाह गर्न २ महिना अघि नै तयारी गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरीक्षण गरेपछि मात्र वितरण गरिएको भट्टराईले बताए । ‘हामीले दसैं अगावै तयारी थालेका थियौं । कार्यकारी निर्देशकबाट अनुगमन निरीक्षण भएपछिमात्रै उदीपुर सबस्टेशनबाट विद्युत् वितरण गरेका हौं,’ उनले भने । प्राधिकरणअन्तर्गत लमजुङ वितरण केन्द्रबाट विद्युत् उपभोग गर्नेमा लमजुङका ३३ हजार ग्राहक छन् ।

लमजुङमा हालसम्म दमौलीबाट ३३ केभी प्रसारण लाइनमार्फत विद्युत् वितरण हुँदै आएको थियो । दमौलीबाट गोरखा हुँदै ६० किलोमिटरको दूरीबाट ल्याइएको विद्युत् ठाउँठाउँमा समस्या आउँदा लमजुङमा विद्युत् अवरुद्ध हुने गरेको थियो । ‘राष्ट्रिय प्रसारण लाइनका अन्य ठाउँमा समस्या हुँदा लमजुङमा बिजुली बल्ने थिएन । अब त्यो समस्या हट्नेछ,’ उनले भने । अहिले दोर्दीखोलाबाट उदीपुर दलालसम्म २ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको र उक्त विद्युत् उपभोग गर्ने गरी विद्युत जडान गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी