
कालिकोट : कालीकोटको पलाता गाउँपालिका- ३ राडूनेटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु भएको हो । पलाता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा यसअघि ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दानबहादुर, निर्मला, जगत दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म सडक संचालन भए पनि त्यहाँबाट पलाता जोड्ने कर्णाली नदीमा पुल छैन । पुल नहुँदा दुई वर्षअघि डिजेल र पेटोल राख्ने ड्रमलाई काठमा डोरीले बाधेर त्यसैमाथि बोलेरो जिप राखेर नदी तारेर थिर्पू गाडी लगिएको थियो । त्यहीबाट पलाताको थिर्पूबाट धौलागोहसम्म जिपले यात्रु ओसारपसार गर्ने गरेको छ ।
जिपले क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । ‘कच्ची ग्रामीण सडकमा क्षमताभन्दा तेब्बर लोड हालेपछि दुर्घटना हुने नै भयो,’ घटनास्थल पुगेका डीएसपी रावतले भने, ‘अरु कारण भन्दा पनि सरासर ओभरलोड देखिन्छ ।’ ५ जना यात्रु क्षमताको जिपमा २० जनाले यात्रा गरिरहेका थिए । (कान्तिपुर बाट)