थपिएको समय अवधिमा पनि सकिएन मुग्लिन-पोखरा सडक विस्तारको काम

दमौली न्युज
  • ख-
  • ख+

दमौली : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डको काम थपिएको समयमा पनि पूरा नहुने भएको छ । पूर्वी खण्डको आगामी फागुनसम्म र पश्चिम खण्डको मंसिरसम्म म्याद थप गरिए पनि उक्त अवधिमा काम नसकिने आयोजनाले जनाएको हो । हालसम्म पूर्वी खण्डको ६८ प्रतिशत र पश्चिम खण्डको ३१ प्रतिशत मात्र काम सकिएको छ ।

३ वर्षभित्र सडक निर्माण गरी हस्तान्तरण गर्ने गरी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ मा र पश्चिम खण्ड (जामुने–पोखरा) २०७८ जेठ २ मा सरकार र ठेकेदारबीच सम्झौता भएको थियो । तर सरकारले समयमै ‘लाइन क्लियर’ नगरिदिँदा र ठेकेदारले कामको गति नबढाउँदा राजमार्ग विस्तार कार्यले पूर्णता पाउन सकेको छैन ।

२०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको अवधिभित्र काम नसकिएपछि २०८१ फागुन १ सम्मका लागि म्याद थपिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनको दाबीअनुसार यस खण्डको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत छ ।

यस्तै, २०८१ भदौसम्म काम सक्ने गरी चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले जामुने–पोखराको काम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ लागतमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण पक्षले काम अगाडि बढाउन नसक्दा २०८१ मंसिर महिनासम्मका लागि म्याद थपिएको थियो । यो अवधिमा समेत काम सक्ने अवस्था नरहेकाले पुनः दोस्रो पटक म्याद थप्न निर्माण पक्षले प्रक्रिया अगडि बढाएको पश्चिम खण्डका इन्जिनियर नारायण पौड्यालले बताए । उनका अनुसार यस खण्डमा हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

कोरोना अवधिको थप १०१ दिन सहुलियत समय सकिन डेढ महिना रहेको पश्चिम खण्डका इन्जिनियर पौड्यालले बताए । ‘हालसम्म २१.१ किलोमिटर दुईतर्फी सडक कालोपत्र गरिएको छ,’ उनले भने, ‘बाँकी रहेको एक/दुई महिनामा काम सम्पन्न नहुने हुनाले म्याद थप्नुपर्ने देखिएको छ ।’ हाल दुलेगौंडा खण्डमा कालोपत्र र कोत्रे खण्डमा नाली निर्माणको तयारी भइरहेको उनले बताए ।

कास्कीस्थित सेती पुलसहित ५ ठूलो र ८ सानो पुल गरी १३ वटा पुल निर्माण गर्नुपर्नेमा ९ वटा पुल सम्पन्न गरिएको र अन्य निर्माणाधीन रहेको उनले बताए । सेती पुलको २७ प्रतिशत भौतिक प्रगति छ । ‘काम गर्ने स्थल पूर्ण क्लियर नभएर आफ्नो हिसाबबाट काम गर्न सकिएको छैन,’ उनले भने, ‘खानेपानीको पाइप, विद्युत्का पोल, कुवा, धारा उपभोक्ता समितिका कारण काम गर्न ढिलाइ भइरहेको छ । निर्माण कम्पनीले जता खाली छ त्यहीं कालोपत्र गर्दै आएका छन् ।’
यस्तै, ४१.४५ किलोमिटर रहेको पूर्वी खण्डमा आँबुखैरेनी, डुम्रे र जामुने खण्डको करिब ६३ किलोमिटर सडक एकतर्फी कालोपत्र गरिएको पूर्वी खण्डका इन्जिनियर पाण्डेले बताए । उनले भने, ‘योमध्ये २९ किलोमिटर सडक ४ लेन र ५ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ ।’ पूर्वी खण्डमा १३ वटा साना पुल बनिसकेका छन् भने ३ वटा ठूला पुल निर्माणाधीन छन् । मादी नदीमाथिको पुलको काम ४० प्रतिशत सम्पन्न भएको उनले बताए ।

‘बर्खायाममा काम सुस्त गतिमा भएको थियो तर अब तिहारलगात्तै तीव्रता दिनेछौं,’ उनले भने, ‘दमौली र डुम्रे खण्डमा तिहारलगात्तै कालोपत्र गर्ने तयारीमा छौं ।’ २०२६ मा रेखांकन भएको पृथ्वी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा साबिक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो । (इच्छाकामना न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्