घाइतेहरुको हालखबर सोध्दै स्वास्थ्यमन्त्री पौडेलले भने, विपद्मा जस्तोसुकै जटिल बिरामीको पनि निःशुल्क उपचार भैरहेको छ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद‍्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताएका हुन्

मन्त्री पौडेलले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरूमा विपद‍्बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद‍्बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए । उनले विपद‍्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ । निजी अस्पतालहरुलाई पनि विपद‍्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन् ।’

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताए । उनले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी