भानुः लुम्बिनी विश्व शान्ति मञ्चले भानु नगरपालिकाको ग्रीन पार्कमा दुई सय लिचिका बेर्ना रोपण गरेको छ ।
नेपाल इनभेष्टमेन्ट मेगा बैंकसँगको संयुक्त आयोजनामा भानु नगरपालिका १ को ग्रीनपार्कमा २०० लिचीका बेर्ना रोपण गरिएको छ ।
नगरपालिकालाई लिचिको पकेट क्षेत्रका रुपमा विकास गर्ने अभियानअन्र्तगत बिरुवा रोपण गरिएको मञ्चका अध्यक्ष एवं युवा अभियन्ता बासु गौतमले जानकारी दिए ।
यसअघि पनि मञ्चले भानुको रुपाकोट क्षेत्रमा वृक्षरोपण गरेको थियो । भानुलाई लिचि पकेट क्षेत्र बनाउन थप बिरुवा रोपण गरेर सघाइने गौतमले बताए ।

भानु नगरपालिकाकी वडा नम्बर १ की अध्यक्ष कान्छीमाया तामाङले वातावरण संरक्षणमा सामूहिक प्रयासको प्रशंसा गरिन् ।
कार्यक्रममा ५० सेना, ५० सशस्त्र प्रहरी बलका सदस्य र २० जना नेपाल प्रहरीको सक्रिय सहभागिता थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंक भानु शाखाका शाखा प्रबन्धक लक्ष्मण आले र कर्मचारीले पनि हरित भविष्य बचत खाता पहल अन्तर्गत “एक खाता, एक रुख” अभियानलाई निरन्तरता दिँदै उत्साहका साथ सहभागिता जनाएका थिए ।

मञ्चले देशैभर वृक्षरोपण गर्दै वातावरण संरक्षण र यससम्बन्धी सन्देश प्रसार गर्दै आइरहेको छ । हाल सामाजिक उत्तरदायित्वअन्र्तगत ठूला व्यवसायिक गृहहरुलाई वातावरण संरक्षणमासमेत मञ्चले उत्प्रेरित गर्दै आइरहेको छ ।

















