त्रिवि शिक्षण अस्पतालमा बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा अन्तर्गतको शल्यक्रिया सेवा स्थगित भएको छ ।

बीमा बोर्डको शल्यक्रिया दररेट र शिक्षण अस्पतालको दरबीच भिन्नता रहेको कारण सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासन प्रमुख प्रमोदकुमार निरौलाका अनुुसार एक हप्तादेखि स्थगित रहेको शल्यक्रिया सेवा सञ्चालन हुन अझै केही दिन लाग्न सक्छ ।

‘सोमबार पनि स्वास्थ्य बीमा बोर्डका अधिकारी र अस्पताल प्रशासनबीच छलफल भएको थियो । दररेटहरूबीचको फरकलाई सफ्टवेयरमा मिलाउन समय लाग्ने भएकोले अझै केही दिन समस्या कायम नै रहन्छ’, निरौलाले अनलाइनखबरसँग भने ।

बोर्डले भदौ १ बाट सेवा सुविधाको शुल्क परिमार्जित गरेको थियो । दुई हप्ता अगाडि अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट उपचार बापतको रकम प्राप्त नभएको भन्दै सेवा दिन नसक्ने जनाएको थियो ।

तर बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अस्पताल गएर छलफल गरेपछि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

हाल स्वास्थ्य बीमाबाट पाइने शल्यक्रियाबाहेकका अन्य सेवाहरू सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमा सुरु गरेपछिको लगभग ६७ करोड रुपैयाँ प्राप्त गर्नुपर्ने दाबी अस्पताल प्रशासनले गरेको छ । तर बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पुससम्मको भुक्तानी भइसकेको र त्यसपछिको २४ करोड हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताए । साभार ः अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्