दमौलीः व्यास नगर क्षेत्रका बालबालिकाको प्रतिभामूलक प्रतियोगिता व्यास नगर साइनिङ स्टारको १० औं सिजनमा सलिस्मा जिसी विजेता घोषित भएकी छन् ।
जेसिआई व्यास नगरले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा शनिबार झण्डै एक सय जनाबाट छानिएर आएका २० जनाबीच प्रतिष्पर्धा भएको थियो । दमौली सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा सलिस्मा विजेता बन्दा सगुन पौडेल फस्र्ट रनर अप तथा समृद्धि आचार्य सेकेण्ड रनर अप हुन सफल भए ।
विजेता सलिस्माले उपाधिसँगै नगद पुरस्कार २५ हजार २४, फस्र्ट रनर अप पौडेलले १५ हजार २४ तथा सेकेण्ड रनर अप आचार्यले १० हजार २४ नगद पुरस्का प्राप्त गरे ।
गण्डकी प्रदेश सभासद अशोककुमार श्रेष्ठ तथा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
मध्यरात नतिजा आएको प्रतियोगितामा पर्यटनविद् हरिसिं गुरुङ नेतृत्वको पाँच सदस्यीय विज्ञ समूहले मूल्यांकन गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बालबालिका देशको भविष्य भन्दै उनीहरुको क्षमता विकासका लागि जेसिआई व्यास नगरले गरेको कार्यमा साथ दिने प्रतिबद्धता जनाए ।
प्रदेश सभासद श्रेष्ठले आफू पनि क्लबको संस्थापक सदस्य रहेको स्म्रण गर्दै यसले समाजमा व्यक्तित्व विकासको उदाहरणीय काम गरेको भनेर प्रशंसा गरे ।
व्यास नगर प्रमुख न्यौपानेले आफू पनि क्लबको संस्थापक सदस्य रहेको स्मरण गर्दै विगत देखि नै नगरका बाल प्रतिभा उजागर गर्ने कार्यमा साथ दिइरहेको र आगामी दिनमा पनि सघाउने प्रतिबद्धता जनाए ।
क्लबका अध्यक्ष नवीन पुरीले सबैको साथ र सहयोगबाट हरेक वर्ष भव्य कार्यक्रम गर्न सफल भएको भन्दै सघाउनेप्रति आभार प्रकट गरे । कार्यक्रमका संयोजक क्लबका कार्यकारी उपाध्यक्ष पूर्णबहादुर विकले धेरैको अथक मिहिनेतबाट कार्यक्रम सफल भएको बताए ।
क्लबका सचिव सनम अधिकारीले क्लबले नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक विकासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।
ग््रााण्ड फिनालेमा विभिन्न कलाकार तथा बाल प्रतिभाले गायन तथा नृत्यकौशल पस्केका थिए ।