पाठेघरको बायोप्सी निकाल्न खोज्दा ३९ वर्षिया महिलाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

चितवन : भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मर भन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं ५, ओमशान्ती मार्ग घर भई भरतपुर १२ मुनालचोकमा बस्दै आएकी ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताउनुभयो । उहाँले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको जानकारी दिनुभयो ।

मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले कान्तिपुर हेल्थलाई बताउनुभयो । उहाँले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताउनुभयो ।

अस्पतालका चिकित्सकहरुले हिस्टेरेस्कोपी गाईडेड पोलिपेप्टोमी गर्ने क्रममा अकस्मात पक्षघात भएको जनाएका छन् । रक्तनलीमा हावा गई फोक्सोमा रोकिएको र मुटुमा हावा पुगेको उनीहरुको भनाई छ । यसलाई चिकित्सकीय भाषामा ‘पल्मोनरी इडेमा अर्थात् स्पर इम्बोलिजम’ भनिने उनीहरुले जनाएका छन् ।

मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको आरोप लगाएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् । अस्पताल परिसरमा सुरक्षार्थ प्रहरी तैनाथ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हिजो भदौ ४ गते ९ बजे काफ्लेलाई शल्यक्रिया कक्षमा लगी लठ्ठाउने सुई लगाई बेहोस बनाउने क्रममा होसमा नआई आईसियूमा मा राखेकोमा अस्पतालका चिकित्सकले रातीः १०ः३० बजे मृत घोषणा गरेको जानकारी दिनुभयो । उहाँले आज बिहान ११ बजे जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर घटनाका विषयमा समन्वय र समाधान गर्ने प्रयास गर्ने जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी