
मुग्लिनः नारायणगढ मुग्लिन सडकको सिमलतालमा गएको पहिरोमा परी बगेका दुई बसका तीन यात्रु सकुशल भेटिएका छन् ।
पहिरोमा बस बगे पछि हाम फालेका ती यात्रु सकुशल भेटिएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सबाट हाम फालेका ३ यात्रु सकुशल रहेको र एउटा बस पहिरोमा पुरिएको देखिएको उनले बताए ।
ती दुई बसमा गरी ५० बढी यात्रु छन् । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् गणबाट प्रहरी उद्धारका लागि खटिएका छन् ।
पत्रकार विनोद श्रेष्ठका अनुसार अहिले घटनास्थलमा उद्धार जारी छ ।
सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।