प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई

दमौली न्युज
  • ख-
  • ख+

दमौली: प्रेस चौतारी नेपाल तनहुँ शाखाका उपाध्यक्ष कृष्ण न्यौपानेलाई शुक्रबार प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेकपा (एमाले) तनहुँको यहाँ आयोजित दशौं जिल्ला अधिवेशनका अवसरमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।  
पार्टीका महासचिव शङ्कर पोख्रेलले न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उक्त पुरस्कारको राशी रु दश हजार नगद रहेको प्रेस चौतारी तनहुँले जनाएको छ । न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं रासस दमौली प्रतिनिधि हुन् । 
कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल लगायतको सहभागिता रहेको थियो ।
चौतारी तनहुँ शाखाले गत माघ २३ गते उक्त पुरस्कार न्यौपानेलाई अर्पण गर्ने निर्णय गरेको थियो । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । 
प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने योजना रहेको उनले बताए । 
यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्