कास्की: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय रहेको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।
विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत् र पत्रकारिता पेसालाई पारेको असरबारे आफू जानकार रहेको प्रदेश प्रमुख भट्टले बताए। उनले आर्थिक संकटले सञ्चार संस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखा परिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।
नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण आवश्यक रहेको उनले बताए। प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए । खबरहबबाट

















