मनास्लु क्षेत्रमा वीरेन्द्र ताल फुट्ने खतरा, बुढीगण्डकीमा बाढीको चेतावनी

दमौली न्युज
  • ख-
  • ख+

गोरखाःगोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । ‘बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टोलीका अनुसार बाढीले थप क्षति पु¥याउने सम्भावना छैन’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पु¥याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।

‘ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको र बाढी आएको भनेका छन्, बाँकी कुरा बुझ्दैछौं’, उनले भनिन्, ‘अहिले तल बुढिगण्डकीमा धमिलो पानी र बाढी आएको छ । अरु अवस्था के छ, बुझ्न खोजिरहेका छौं ।’

सो ताल २०७१ चैत २६ पनि फुटेको थियो ।


गृहद्वारा बाढीको चेतावनी
यता, गृह मन्त्रालयले भने ताल नै फुटेको भन्दै बुढीगण्डकीमा बाढी आउन सक्ने भएकाले सतर्क रहन नागरिकमा सूचना जारी गरेको छ ।

गृहप्रवक्ता नारायणप्रसाद भट्टराईले बाढीआउनुपूर्व नै सजगता अपनाउन आग्रह गरिएको बताए । घटनाको वास्तविकता बुझ्न सामागाउँ चौकीबाट प्रहरी खटिएको पनि गृहले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी