मस्र्याङदी दुर्घटना प्रकरणः ४१ दिनपछि खुल्यो रहस्य (भिडियो सहित)

  • ख-
  • ख+

मस्र्याङदीको बीच भागमा भेटियो बेपत्ता ट्रक
आँबुखैरेनीः
गत भदौ १७ गते विहान आँबुखैरेनी ४ ऐनापहरास्थित पृथ्वी राजमार्ग छेउमा नालाको स्ल्याब भत्किएको अवस्थामा भेटियो । नजिकै जमिन पनि केही भासिएकाले सवारी दुर्घटना भएको अनुमान गरियो । तर के खसेको भन्ने यकिन गर्ने अवस्था थिएन ।


प्रहरीकहाँ ना ६ ख २८०२ नम्बरको ट्रक बेपत्ता भएको जाहेरी परेको थियो । चालक र सहचालक दुवै सम्पर्कविहिन भएपछि पोखराबाट चितवनतर्फ जाँदै गरेको सोही ट्रक दुर्घटनामा परेको आशंका गरियो । तर खसेको प्रष्ट प्रमाण नभेटिए पछि घटनाकै दिन सशस्त्र प्रहरीको मुग्लिनस्थित विपद् व्यवस्थापन केन्द्रबाट आएको टोलीले खोजी गरे पनि मस्र्याङदीको अत्यधिक बहावका कारण केही पत्ता लाग्न सकेको थिएन ।

भदौ १७ मा ट्रक खस्दा भत्किएको सडक छेउको नाला ।


यस्तैमा स्थानीयले सामाजिक सञ्जालमा ट्रक भेटिएको तस्बिर राख्न थाले । स्थानीय विजय गुरुङले फेसबुकमा ४० दिनपछि ट्रक भेटिएको लेखेका थिए ।


सोमबार पानीको बहाव कम भएसँगै नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा ट्रकको टायर र केही भाग भेटिएको प्रहरीले पुष्टि गरेको छ । ‘हराएकै ट्रक हो कि भन्ने देखिएको छ,’ ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले भने,‘बहाव अझ घटेपछि अनुसन्धान गछौंै ।’

भिडियो सौजन्यः विजय गुरुङ


चालक र सहचालक दुवै मृत भेटिए
यस अघि ट्रकको पत्तो नलागे पनि चालक र सहचालक दुवै फरक फरक समयमा मृत भेटिएका थिए । सर्लाहीका सह चालक घटनाको केही दिनपछि चितवनको नारायणी किनारमा भेटिएका थिए भने एक साता अघि मस्र्याङदी किनारमै मृत भेटिएका अर्का चालक भएको खुलेको छ ।

यससँगै एक महिना लामो रहस्य टुंगिएको ठानिएको छ । ‘सबै हिसाबले हराएको ट्रक यही हो भन्ने देखिन्छ,’ ईन्स्पेक्टर थापाले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी