
दमौली व्यास नगरपालिका–३ देउराली नगर टोलमा करिब ६ महिना देखि बस्दै आएकी एक बेवारिसे मानसिक रोगी महिलाको उद्वार गरि उपचारको लागि ललितपुर पठाइएको छ । अन्दाजि २६ वर्षिया गिता कार्किलाई उद्वार गरी उपचारको लागि कोशिष नेपाल केन्द्रीय कार्यालय ललितपुर पठाइएको हो ।
महिलाको आपतकालिन उद्वार एवं व्यवस्थापनको लागि एम्बुलेन्समा राखेर कोशिष नामक संस्थामा पठाइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । महिलाको कोशिस नेपालमा राखेर तीन महिना सम्म उपचार गरिने र उक्त खर्च व्यास नगरपालिकाले व्यहोर्ने नगरप्रमुख न्यौपानेले बताए ।
उनले भने,“प्रहरीको सहयोगमा उहाँलाई उपचारको लागि काठमाण्डौ पठाएका छौं । उपचार खर्च वापत नगरपालिकाले मासिक १५ हजार कोशिस नेपाललाई उपलब्ध गराउने छ ।” जनप्रतिनिधि र नगरप्रहरी सहित नगरपालिकाको एम्बुलेन्समा उक्त महिलालाई काठमान्डौं लगिएको हो ।