चुनाव जितेमा गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताको घोषणा

दमौली न्युज
  • ख-
  • ख+

भट्टराईलाई जिताउन गठबन्धनमा एकता
दमौलीः
तनहुँ १ को उपनिर्वाचन जितेमा कांग्रेस नेता गोविन्द भट्टराईलाई मन्त्री बनाउने शीर्ष नेताले प्रतिवद्धता जनाएका छन् । डुम्रेमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एकमतले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाए ।


प्रधानमन्त्री दाहालले गत मंसिरमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीभन्दा सम्मानित पदमा पुर्याउने बताएको कुरा पूरा गरेको स्मरण गर्दै अत्याधिक मतले गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने प्रतिवद्धता जनाए । ‘म देउवा सँगै छु र देउवाले वचन दिनुभएको मन्त्री पद पूरा हुन्छ,’ उनले भने ।

गोविन्द भट्टराई त्याग र समर्पण गरेको यहि माटोमा हुर्केको ईमानदार र योग्य उम्मेदवार भएकोले गठवन्धनका दलले अत्याधिक मतका साथ जिताउने बिस्वास आँफुले लिएको उनले बताए ।


प्रचण्डले तनहुँ र चितवन जोड्ने बुद्ध सिंह मार्गको घुमाउने घाटको पक्की पुल १ बर्ष भित्र पूरा गर्नेगरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । बन्दिपुरमा खानेपानी लाने काम र निर्माणाधिन पृथ्वीराजमार्गको कामलाई छिटो गर्नको लागि तत्काल लागिपर्ने दाहालले बताए । यस्तै, छिर्कनेमा स्थापना भएको चिडियाखानाको काम अगाडि बढाउने ,
देवघाटमा संस्कृत बिश्व बिद्यालय बनाउने बारेमा गम्भीर अध्यन गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।


कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भानुभक्तको जिल्लाले योग्य व्यक्ति राष्ट्रपति पाएको र अहिलेका उम्मेदवार गोविन्द भट्टराई पनि योग्य उम्मेदवार भएकोले मन्त्री पाउने बताए । भट्टराई जत्तिको योग्य व्यक्तिलाई जिताउनुस मन्त्री बनाउने काम हाम्रो भयो देउवाले भने । ‘तनहुँमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सरकारी क्याम्पस र सरकारी सुविधा सम्पन्न अस्पताल बनाउने काम हाम्रो हो,’ देउवाले भने ।

सरकार हाम्रो बन्छ त्यसकारणले विकास पनि हामीले गर्ने हो देउवाले भने । लामो त्याग तपस्या र आन्दोलन गरेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याएका छौँ , ती सबै उपलब्धिको रक्षा गर्नपनि गोविन्द भट्टराईलाई जिताउनुपर्छ पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने ।


मलाई राष्ट्रपतिको अफर आएपनि म भन्दा सिनियर रामचन्द्र पौडेल हो भन्ने लागेर ईमानदारीता देखाई राष्ट्रपति पौडेललाई बनाएको नेपालले बताए । तनहुँको निर्वाचन क्षेत्र सँग जोडिएको गोर्खामा पुर्व र वर्तमान प्रधानमन्त्री हुनुहुन्छ भन्दै नेपालले भट्टराईले जितेपछि पनि महत्त्वपूर्ण ठाउँ पाउने र गठवन्धनको सरकारबाट विकासको कामले गति लिने उनले बताए । तनहुँलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने बारेमा समेत शीर्ष नेताबीच धेरै अगाडि छलफल भएको नेपालले बताए । देशको विकास र स्थायित्वका लागि पनि गठबन्धन ५ वर्ष पूरा टिक्ने उनले बताए ।

कार्यक्रममा पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले एकीकृत बिकास योजनाका साथ काम गर्न सक्यौं भने मात्रै देशमा बिकासले गति लिने बताए । भर्खरैको युवाले आफ्नो देशको सपना नदेखि विदेशको सपना देख्न थाल्यो भने हामीले गर्ने बिकासको मोडल फेर्नपर्ने र देशमा , विकास र समृद्धि ल्याउने तिर एकजुट हुनुपर्ने भट्टराईले बताए । पटकपटक का आन्दोलन ले ल्याएको परिवर्तनमा पनि मानिसको जीवन परिवर्तन हुन सकेन भने त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने भट्टराईको भनाइ छ ।

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँको माटोमा हुर्केको र यहाँको समस्याको बारेमा जानेको ब्यक्ति गठवन्धन बाट उम्मेदवार बनेको बताए । मलाई एकपटक जिताउनुस म तपाईंको आवश्यकताका आधारमा विकासका काम गर्छु भट्टराईले भने । नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति श्याम मौरतीको सभापतित्वमा भएको कार्यक्रममा तनहुँका चुनावी कमाण्डर पूर्वमन्त्री शंकर भण्डारी, किसान श्रेष्ठ , हरिबहादुर चुमान लगायतका बक्ताहरूले भट्टराईलाई जिताउनको विकल्प नभएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी