दमौलीः नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफू अलग्गिएका सबैलाई समेटेर पार्टी बलियो बनाउने पक्षमा रहेको भन्दै तनहुँको प्रतिष्ठा राष्ट्रिय राजनीतिमा कायम राख्न सक्नेलाई मतदान गर्न कार्यकर्तासँग अपिल गरेका छन् ।
उनले यसका लागि जिल्लाको पहिचान राष्ट्रिय राजनीतिमा कायम गर्न सक्ने बौद्धिक र योग्य उम्मेदवारको छनोट गरी मताधिकार प्रयोग गर्न समर्थकलाई आग्रह गरे ।
एक भिडियो वक्तव्य जारी गर्दै कांग्रेससँगको वार्ता सकिएको बताएका जोशीले आफ्ना आधिकारिक उम्मेदवार कोही नभएको भए पनि आफूलाई उपयुक्त लागेका व्यक्तिलाई मतदान गर्न समर्थक स्वतन्त्र भएको उल्लेख गरे ।
जोशीले वक्तव्यमा भनेका छन् , ‘धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन् । आज नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौ ।’
कांग्रेसका पूर्व सहमहामन्त्री जोशी पक्षको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्री गगन थापाले विभिन्न चरणमा वार्ता गरेका थिए । यसलगत्तै यसअघि चुनावमा मौन रहने घोषणा गरेका जोशीको यस्तो वक्तव्य आएको हो ।











