दमौलीः लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट तनहुँ १ का साझा उम्मेदवार गोविन्द भट्टराईलाई देवघाटमा ठूलो संख्याका स्थानीयले साथ दिने प्रतिवद्धता जनाएका छन् । चुनावी अभियानका क्रममा देवघाटधाम पुगेका भट्टराईलाई विभिन्न क्षेत्रका धार्मिक अगुवासँगै स्थानीय आश्रममा आश्रित वृद्धवृद्धा अनि युवाहरुले सघाउने प्रतिवद्धता जनाउँदै विजयको शुभकामना दिएका छन् । चुनावी अभियानका क्रममा प्राप्त आर्शिवादले आफूलाई विजयी हुनेमा आशावादी बनाएको उनले बताए ।
उम्मेदवार भट्टराईले तनहुँको पवित्र तीर्थस्थल देवघाटधाम लाई धार्मिकस्थलका रूपमा विकास गर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको विकासका लागि आफू सत्तामा रहे पनि नरहे पनि सधैं लागि पर्ने बताए । देवघाट सँग नेपाली कांग्रेसको इतिहास जोडिएको भन्दै भट्टराईले पार्टीको प्रतिष्ठाका लागि पनि काङ्ग्रेसले जित्नुपर्ने बताए ।
यहाँ गोविन्द भट्टराई मात्रै लडेको होइन, नेपाली कांग्रेस लडेको हो भन्दै उनले गठवन्धनका उम्मेदवार लडेको तीनवटै क्षेत्रमा जित्ने गरि लाग्न केन्द्र देखि वडा र टोलसम्म पार्टी पंक्ति परिचालित भएको बताए । गएको चुनावमा रामचन्द्र पौडेलले जितेको र उहाँ राष्ट्रपति भएपछि उहाँले जनता माझ गरेका प्रतिवद्धताहरू आँफुले पूरा गर्ने जिम्मेवारी आएको उनले बताए । तनहुँको विकासको लागि कार्ययोजना बनाएर अगाडि बढ्दा समस्याको समाधानमा सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्थानीयले सुकुम्बासी समस्या, घुमाउने र ठिमुराको पुल, कोटाको पुल, गाईघाटको पक्की पुल, शालिग्राम मार्ग स्तरोन्नति, संस्कृत विश्व बिद्यालय बनाउन पहल गर्न तथा नदि तटबन्धको समस्याको बारेमा राखेको जिज्ञासामा सबै समस्याको समाधान गर्न आँफु प्रतिवद्ध भएर लाग्ने बताएका थिए ।
गाउँपालिका स्तरीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम काङ्ग्रेस देवघाट गाउँपालिका
उपसभापति पुरूषोत्तम पण्डितको सभापतित्वमा भएको थियो । सो अवसरमा प्रदेश सांसद बिमला गौचन, काङ्ग्रेस नेतृ चिनु पोख्रेल, श्याम मौरती, काजिमान श्रेष्ठ , इन्द्र थापा , भरत आचार्य , अर्जुन अधिकारी , रबिन्द्र गुरूङ, लक्ष्मीभक्त खनाल , माओवादिका भिम राना र दुर्गालाल गुरूङ लगायतले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनु पर्ने बताएका थिए । कार्यक्रममा देवघाटका हजारौं नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो ।











