पदमा नहुँदा विकास माग्न निवेदन बोकेर धाएँ, अब सांसदकै भूमिकामा पुर्याइदिनुस्ः गोविन्द भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले तनहुँमा राष्ट्रपति कृषि कार्यक्रम ल्याउने बताएका छन् । गत मंसिरमा भएको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भए पछि बाहिर सार्वजनिक रूपमा विकासका काममा हिंड्न नमिल्ने हुँदा राष्ट्रपतिसँग तनहुँका जनतालाई जोड्न उक्त कार्यक्रम ल्याउने भट्टराईले बताएका हुन् ।

वाम लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार रहेका भट्टराईले सबैको साथ र सहयोगले चुनाव जित्ने र यहाँहरूको हरेक बिकास निर्माणका काममा सक्रिय भएर लाग्ने बताए । ‘यहींको माटोमा म हुर्कें यहाँको भूगोलमा कहाँ के आवश्यक छ, निर्वाचित भए पछि काम गर्न मलाई सजिलो छ,’ उनले भने ।

विगतमा सत्ता, शक्ति र कुनै पदमा नहुँदा जनताको कामको लागि निवेदन बोक्दै मन्त्रालय धाएर भए पनि योजना हरू ल्याएँ तर अब चुनाव जितेर गएपछि ती काममा सहज हुने उनको भनाइ थियो । पञ्चायतको पालामा मन्त्रीको लागि अफर आउँदा नखाई लोकतन्त्रको लागि , प्रजातन्त्रको लागि लडेको स्मरण गर्दै १ पटक अवसर दिन आग्रह गरे । ‘जीवनभर म जनताका लागि लडेँ, यसपटक कांग्रेसको विरासत धान्ने र साँसद बनी विकासका काम गर्ने अवसर दिनुस,्,’ उनले भने, ‘म जनताको काम ईमानदारीपूर्वक गर्छु ।’

कार्यक्रममा माओवादी केन्द्र भानुका सभापति सिताराम अधिकारीले गठवन्धनका दलहरूले एकजुट भएर भट्टराईलाई जिताउनुपर्ने बताए । अधिकारीले भानुको कर्स्याङ्दी र फाउँदीका अधुरा योजना पूरा गर्नसक्ने क्षमता भट्टराईमा मात्रै रहेको समेत बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य लक्ष्मीप्रसाद आचार्य, पार्टी सचिव सहदेव अधिकारी, चिनु पोख्रेल, उदय गौली, समुन्द्र गोदार, दीपक भट्टराई, दिपक थापा लगायतले पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनु पर्ने बताएका थिए । मतदाता भेटघाटकै सिलसिलामा भट्टराईले भानु ६ को सम्पर्क कार्यलय पनि उद्घाटन गरेका छन् । काङ्ग्रेस उम्मेदवार भट्टराईले आजै भानु २ को नारेश्वरटार , ५ को बारिफांट र सेपाबगैंचा तथा भानु ६ को पड्के पसल तथा भानु १३ को ठुलढुंगामा पुगि मतदातालाई भेटेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्