
दमौली : तनहुँ जिल्ला अदालतले बालविवाह मुद्दामा पाँच अभियुक्तलाई कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाईजनही १८ दिनको कैदको फैसला सुनाएको हो ।
कैदको फैसला संगै उनीहरू विरुद्ध जनही रु.दुई हजारका दरले जरिवाना भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो ।
जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् । प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।