३१ करोड ऋण अपचलन गरेको आरोपमा कामना सेवा विकास बैंकका निवर्तमान सीईओसहित ४ जना पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

कमसल धितोमा अधिक कर्जा प्रवाह गरेको अभियोगमा कामना सेवा विकास बैंकका निवर्तमान सीईओसहित चार जनालाई इलाका प्रहरी कार्यालय दमक, झापाले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई विभिन्न मितिमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले केटिएम दैनिकलाई बताए ।

पाठकका अनुसार बैंकका निवर्तमान सिईओ प्रविण बस्नेत माघ १५ गते गते नै इलाका प्रहरी कार्यालय दमकमा आत्मसमर्पण गरेका हुन् । फागुन २ गतेसम्म कार्यकाल रहेका सीईओ बस्नेत बैंकिङ कसुर अभियोगमा प्रहरी समक्ष आत्मसमर्पण गरेपछि बैंकले उनको कार्यकाल नथपेर अहिलेका लागि कामु प्रमुख कार्यकारीको जिम्मेवारी विनय दाहाललाई दिएको छ ।

प्रहरीले वीरेन्द्र सिंह भण्डारी, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी भएको बुझिएको छ ।

झापा जिल्लाको दमक क्षेत्रमा विभिन्न व्यक्तिलाई दिएको कर्जा अपचलन भएको भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न सीआईबीलाई पत्र पठाएको थियो ।

सिआइबीको टोलीले झापा दमक पुगेर केही समयको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको प्रवक्ता पाठकले बताए ।

‘राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रबाह गरेको ३१ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्षसहित छानविन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो,’ पाठकले केटिएम दैनिकसँग भने, ‘सोहीअनुसार सीआईबीबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।’

शाखाले एक करोड सम्मको ऋण दिन पाउने तर त्योभन्दा माथिको ऋण दिनको लागि प्रदेश हुँदै केन्द्रीय कार्यालयको स्वीकृत चाहिने हुनाले उक्त ऋण अपचलन गरेको आरोपमा प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारी, भ्यालुएट र ऋणीलाई पक्राउ गरिएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्