पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल

दमौली न्युज
  • ख-
  • ख+

काभ्रेपलाञ्चोक, १८ माघ (रासस) : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ नं क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पुनः पहल थालिएको छ । यसअघिको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइँमा रहेको जनाइए पनि युनेस्कोको मापदण्ड पूर्णपालना गर्न बाँकी रहेकाले प्रक्रियागत रुपमा अघि बढ्ने नगरले जनाएको छ ।

ऐतिहासिक एवं पुरातात्विक पनौती युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । नगरले पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मङ्गलबार स्थानीय सरोकारवालासँगको छलफलमा सूचीकृतको अन्तिम प्रक्रियाका लागि पहल गर्न नगरलाई सुझाव दिए । “यूनेस्कोको मापदण्डका लागि आवश्यक प्रक्रियामा सामेल हुँदैछौँ, लामो समयको प्रतिक्षापछि अब पनौती सम्पदामा सूचीकृत गराउनेछौँ”, नगरप्रमुख रामशरण भण्डारीले भन्नुभयो । यूनेस्कोको मापदण्डअनुसार आवश्यक प्रक्रियाका लागि नगरले निरन्तर कार्य गर्नेछ ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयपछि यूनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्ने जनाइएको छ । सूचीकृतको प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माण भइरहेछ । नगरले साँस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णयको आधारमा यूनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ । विश्वभर रहेका प्राचीन सम्पदाको पहिचान गरी त्यसलाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले निर्धारण गरेको मापदण्ड पूरा भएपछि विश्व सम्पदाको सूचीमा राख्छ ।
सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघिनै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरले जनाएको थियो ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य दुई वर्षअघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभयो । मनहर्टले मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले बजेट छुट्याएर प्रक्रिया अघि बढाइएको थियो ।

देशमा राजनीतिक उतारचढाव, सरकार परिवर्तन, कोरोना सङ्क्रमणले पारेको प्रतिकूल प्रभावका कारण लामो समयदेखि मन्त्रिपरिषद्मा पनौतीको विषयले प्राथमिकता नपाउँदा विश्व सम्पदामा सूचीकृत हुन नपाएको बताइन्छ । यो विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर)धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ ।

सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख यूनेस्कोको तत्वावधानमा हुने नीति छ । पुरातत्व विभागद्वारा पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

वडा नं ५, ६ र ७ मा सय बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ देखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरियो । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडाँै दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर),चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

सरकारले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

नगरको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछ । नगर कार्यालयले पूरानो शैलीका घर बनाउने स्थानीयवासीलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरेको छ । नगरको सहयोगका लागि ७ नं वडाका स्थानीयवासीले पुरातत्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास बनाउनुपर्ने हुन्छ ।

नगरले यस कार्यक्रमअन्तर्गत एघार परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको जनाएको छ । विभागले तोकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग दिन थालिएको नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “संरक्षित क्षेत्र ऐतिहासिक सहर पनौतीमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका हौँ”, अधिकारीले भन्नुभयो । पुरानो शैलीका विभागले तोकेअनुसारको घर बनाउँदा हाल महँगो पर्ने भएकाले पुरानो सहरको ऐतिहासिकता जोगाउन नगरले पनि सहयोग गर्न थालेको हो ।

रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको छ । प्रोत्सहान रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पुरानैशैलीमा बनाउने प्रस्ताव गर्न थालेका छन् । हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेस गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी