
दमौलीः नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री एवम् तनहुँ क्षेत्र नं १ का स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले आँफुले मंसिर ४ गते हुने चुनाव जित्ने दावी गरेका छन् ।
बिहिवार ब्यास २ को सत्यवति स्कुल अगाडि खोलेको सम्पर्क कार्यालयको उद्घाटन गर्दै जोशीले सो दावी गरेका हुन् । नेपाली कांग्रेसले बीपीको सिद्धान्त छोड्दै गएको र सत्तामा लागेको कारण मासिँदै गएको भन्दै जोशीले पार्टी बचाउन आफ्नो उमेदवारी रहेको बताए ।
रामचन्द्र पौडेलले ०४८ सालदेखि लगातार सत्ता र शक्तिमा रहेपनि तनहुँको बिकासमा केही नगरेको कारण आँफु जनताको सेवा र तनहुँको विकासका लागि उमेदवारी दिएर अगाडि बढेको उनले बताए ।
पौडेलको जन्म नैँ जोशीलाई अगाडि बढ्न नदिनको लागि भएको जोशीको भनाइ छ । आफू अगाडि बढ्छकी भनेर पौडेललाई रातभरि निन्द्र नलाग्ने गरेको भन्दै जोशीले आफ्नो भने पौडेलप्रति कुनै दुश्मनी नरहेको बताए । आफ्नो क्षेत्रमा मात्रै होइन तनहुँ जिल्लामै विकास निर्माणको काममा केही नगरेको हुँदा तनहुँका जनताले फेरि एकपटक आफूलाई खोजेको उनको भनाइ छ ।
शुक्रबार धार्मिक एतिहासिक महत्त्व बोकेको छाब्दी बाराही मन्दिरको दर्शनसँगै पूजा गरेर प्रचारप्रसार अभियान अगाडि बढाउने कैंची चिह्न पाएका जोशीले बताए । पहिला उमेदवारी खारेज हुन्छ भन्ने अफवाह फैलाउने टोलीले उमेदवारी सदर भए पछि अहिले फेरि जितेपनि साँसद हुन नपाउने हल्ला फैलाएको भन्दै जोशीले गलत र भ्रामक कुराको पछि नलागि ढुक्कसँग प्रचारप्रसारमा जुट्न आग्रह गरे ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, रेशम गुरूङ लगायतले जोशीको जित सुनिश्चित रहेको बताएका थिए ।