
विकास खनाल
दमौलीः कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा उत्रने प्रयास गरिरहँदा सबैको चासो रहेको तनहुँ १ मा पुराना नेताहरुले आफूलाई बाइपास गराइएको गुनासो गरेका छन् । उनीहरुको गुनासोको तिर अरु कोही नभएर पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फ नै सोझिएको छ । पछिल्ला कालखण्डमा पौडेलसँग सहकार्य गरेका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल तथा पूर्व सचिव समुन्द्र गोदार दुवैले नेता पौडेललाई आफूमाथि अन्याय गरेको आरोप समेत लगाएका छन् ।
पूर्व सभापति पौडेलले आँफुले २०४८ बर्षदेखि लगातार गरेको समर्पणको मुल्यांकन नभएको र अवसर दिने बेलामा अन्याय गर्ने गरिएकोले अपमानित महशुस गरेको बताए । २०३१ सालबाट नेपाली काङ्ग्रेस तनहुँको जिल्ला सदस्य हुँदै २०४२ सालमा जिल्ला सहसचिव र २०४८ सालमा जिल्ला उपसभापति हुँदै २०५३ सालदेखि २०६७ सालसम्म पार्टीको सभापति भएर काम गरेका थिए । उनले २०४३ सालमा जिल्ला पञ्चायतको सदस्यमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उठाएर आँफुलाइ हराएको आरोप लगाउँदै २०५२ सालमा आफ्नो निर्वाचित सभापति समेत रामचन्द्रले खाइदिएको आरोप लगाए ।
पूर्व सभापति पौडेलले राष्ट्रिय सभामा जान, व्यासमा मेयर हुन र पार्टी गण्डकी प्रदेश सभापतिमा निर्वाचन लड्न समेत रोकेको गम्भीर आरोप लगाए ।
पार्टीको लागि घर किन्न लाग्दा समेत बरिस्ठ नेता पौडेलले कुनै सहयोग नगरेको भन्दै उनले तनहुँबाट कसैलाई पनि राजदुत बनाउने देखि अन्य सुविधाका पदमा लान तथा नियुक्ति गराउन नसकेको आरोप लगाए । जिल्लामा अन्य नेतालाई ब्यबस्थापन गर्ने तर आँफुलाइ बाइपास गर्ने गर्दा चुनावमा राम्रो नतिजा आउन नसक्ने उनले चेतावनी दिए ।
यस्तै, पार्टी जिल्ला सचिव रहिसकेका नेता समुन्द्र गोदारले पनि आफूलाई पौडेलले बाईपास गरेको आरोप लगाएका छन् । ५०÷५२ वर्ष देखि पार्टी संघर्ष र आरोह अवरोहमा सक्रिय रहे पनि आफूलाई लाभको पदमा नसमेटिएको गुनासो गोदारको छ ।
अझैपनि यस्ता सक्रिय राजनितीमा संलग्न, सामाजिक क्षेत्रमा क्रियाशील गोदारलाइ नसमेट्नु पौडेलको कमजोरी देखिन्छ । गोदारले आँफुलाई पनि मोतिकुमार श्रेष्ठ, यमबहादुर आलेलाई जस्तै ढाँटछल र झुक्याउने काम गरि राजनीति बाटै टाढा पुर्याउने काम भएको बताए ।