
दमौलीः तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस तनहुँका पूर्व सचिव विश्व बाँस्तोलाले स्वेच्छिक हिसाबले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
स्वतन्त्रतर्फ उम्मेदवारी दिएका उनले बुधबार उम्मेदवारी फिर्तापछि दमौली न्यूजसँग कुरा गर्दै भने, ‘राजनीतिक हिसाबले सम्भावना बोकेर चुनाव लडेको थिएँ । तर वातवरण उपयुक्त नदेखेर स्वेच्छाले पछि हटेको छु ।’
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउँदा कांग्रेस छाडेर स्वतन्त्र बनेका बाँस्तोला साझा उम्मेदवार बन्ने योजनामा थिए ।
तर, कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अनि एमालेसमेतले उम्मेदवारी नत्याग्ने संकेत आए पछि बाँस्तोलाले समय सकिनु केही अघि नै उम्मेदवारी फिर्ता गरेका हुन् ।
साझा उम्मेदवार बन्ने योजनामा प्रगति नहुने देखेपछि फिर्ता लिएको भए पनि बाँस्तोलाले यो कसैको समर्थन वा विरोधका लागि नभएको बताए । ‘म कसैको समर्थन वा विरोधका लागि खडा भएको होइन । र, उम्मेदवारी पनि फिर्ता लिएको होइन,’ उनले भने । उनले भावी दिनमा कोसँग के कस्तो सहकार्य हुने अहिले नसोचेको पनि बताए ।