
दमौलीः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्वान्त अनुरुप अहिलेको गठबन्धन सरकार चलेको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको १०९ औं बीपी जयन्ती तथा जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् ।
बीपीको मूल सिद्वान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकोले अहिलेको गठबन्धन सरकार सोही अनुरुप चलेको उनले बताए । बीपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्वन गर्दै अघि बढेको र त्यसको पुस्ता हामी भएको पौडेलको भनाई थियो ।
बीपीको यहि सिद्वान्त अनुसार हिडेकै कारण देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको उनले बताए । बीपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोही अनुरुप जनताको सपना साकार पार्न काँग्रेसले अहम भूमिका निर्वाह खेल्नुपर्ने पौडेलले बताए ।
देशमा जब संकट देखा पर्छ तब काँग्रेसले निकास र समाधान तर्फ महत्वपूर्ण अभिभावकिय भूमिका खेल्छ पौडेलले भने ।
काङ्ग्रेसको अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउनु भन्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं तनहुँ प्रतिनिधी सुरेन्द्र पाण्डेले काङ्ग्रेसले चालेको अभियान गठबन्धनका उमेदवारलाई जिताउनको लागि भएको बताए । पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, प्रदेश मन्त्री डोबाटे बिक, प्रदेश सांसद सरिता गुरूङ , पार्टी सचिव सहदेव अधिकारी , क्षेत्रीय सभापति चुडामणि खनाल ,।श्याम मौरति लगायतका बक्ताहरूले काङ्ग्रेस एक ढिक्का भइ चुनावमा जानुपर्ने बताएका थिए ।